तेल्लोकमा चाँडै इलाका प्रशासन कार्यालय स्थापना हुने प्रजिअ दाहालको भनाई,गरियो स्थलगत निरीक्षण

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १३ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोकमा चाँडै इलाका प्रशासन कार्यालय स्थापना गरिने भएको छ ।

बुधवार प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख(डिएसपी)उमेश जोशीसहितका सुरक्षा अधिकारीले इलाका प्रशासन कार्यालय स्थापना हुने क्षेत्रको निरीक्षण गर्नु भएको छ । प्रजिअ दाहाल नेतृत्वको टोलीले निरीक्षणसंगै सिरिजङ्गा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान सहितका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बे सहितका कर्मचारी र स्थानीयसंग छलफल समेत गरेको छ । पालिका अध्यक्ष लालकृष्ण चौहानले भदौ महिनाको पहिलो साता देखि तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना भई सेवा सुचारु गर्ने निर्णय भएको जानकारी दिनुभयो । प्रजिअ दाहालले चाँडै इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याउने गरी स्थानीय जनप्रतिनिधि तथा समुदायका सदस्यसंग छलफल समेत गरिएको जानकारी दिनुभयो । सरकारले इलाका प्रशासन कार्यालयमा कर्मचारी राजपत्र अनंकित प्रथम श्रेणी(नायव सुब्बा)का श्यामला पन्थी र गोबिन्दप्रसाद अधिकारीलाई खटाउने गरी यसअघि नै निर्णय गरिसकेको छ ।

प्रमुख जिल्ला अधिकारी दाहालले तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सो क्षेत्रका सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका सेवाग्राहीलाई नागरिकता सहितका सेवा प्रवाह तेल्लोकबाटै हुने जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालय स्थापनाको पहल विगत देखि नै भइरहेपनि कार्यालय स्थापना र सेवा सुचारुका लागि उपयुक्त वातावरण भने भइरहेको थिएन । प्रजिअ दाहालले इलाका प्रशासन कार्यालय स्थापना गरी सेवा प्रवाह सुचारु गर्न आफुले पहल र अग्रसरता लिएको र अब चाँडै नै तेल्लोकबाटै सेवा प्रवाह हुनेगरी तयारी गरिएको बताउनुभयो ।‘अब धेरै दिन लाग्दैन,हामी चाँडै इलाका प्रशासन कार्यालय स्थापना गरी सेवा सुचारु गर्ने छौं’प्रजिअ दाहालले भन्नुभयो । यसअघि तत्कालिन प्रजिअद्धय नेत्रप्रसाद शर्मा र शिवराज सेढाइँले समेत इलाका प्रशासन कार्यालय स्थापनाको पहल स्वरुप स्थलगत निरीक्षण र स्थानीयसंग अन्तरक्रिया समेत गर्नु भएको थियो ।

 

Similar Posts