पाथीभरा याङवरकद्धारा सञ्चालित एकीकृत घुम्ति शिविरबाट झण्डै ७ सय लाभान्वित
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १३ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ति सेवा शिविरमा झण्डै ७ सय जनाले सेवा लिएका छन् ।
पाथीभरा याङवरक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इक्साहाङ सुब्बाका अनुसार साउन ६ गते देखि १२ गतेसम्म सञ्चालन भएको शिविरमा ६ सय ८७ जनाले सेवा लिएका हुन् । सुब्बाका अनुसार ४ सय ५२ जनाले सामाजिक सुरक्षा भत्ता सम्वन्धी सेवा र २ सय ३५ जना ६० बर्ष माथि उमेर समूहका नागरिकले स्वास्थ्य परीक्षण सम्वन्धी सेवा लिएका हुन् । पालिकाले पालिकाको केन्द्र रहेको वडा नं २ बाहेक पालिकाका अन्य ५ वटा वडामा पुगेर एकीकृत घुम्ति सेवा शिविर सञ्चालन गरेको थियो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत सुब्बाका अनुसार वडा नं १ नाङखोल्याङमा १ सय २२ जनाले सामाजिक सुरक्षा भत्ता लिँदा ६० बर्ष उमेर पूरा भएका ६४ जनाले स्वास्थ्य परीक्षण सम्वन्धी सेवा लिएका छन् । वडा नं ३ तिरिङगेमा ८७ जनालाई सामाजिक सुरक्षा भत्ता तथा ३९ जनाको स्वास्थ्य परीक्षण,वडा नं ४ डुम्रिसेमा ७१ जनालाई सामाजिक सुरक्षा भत्ता र ४२ जनाको स्वास्थ्य परीक्षण,वडा नं ५ चाक्सिबोटेमा ४७ जनालाई सामाजिक सुरक्षा भत्ता तथा २८ जनाको स्वास्थ्य परीक्षण र वडा नं ६ थुम्बेदिनमा १ सय २५ जनालाई सामाजिक सुरक्षा भत्ता तथा ६२ जनाको स्वास्थ्य परीक्षण सम्वन्धी सेवा प्रवाह भएको पालिकाले जनाएको छ ।
पालिकाले साउन ६ गते वडा नं १ मा ७ गते वडा नं ३ मा,८ गते वडा नं ४ मा ११ गते वडा नं ५ मा र १२ गते वडा नं ६ मा एकीकृत घुम्ति सेवा शिविर सञ्चालन गरेको थियो । पालिकाका अध्यक्ष केशरकुमार सुब्बा,उपाध्यक्ष रनमाया गुरुङ,सम्वन्धित वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य तथा वडा सदस्यहरु र पालिकाको बिषयगत शाखाका प्रमुख तथा कर्मचारीको उपस्थितिमा पालिकाले हरेक बर्ष एकीकृत घुम्ति सेवा शिविर सञ्चालन गर्दै आइरहेको छ ।