एक आर्थिक बर्षमा कञ्चनजंघा संरक्षण क्षेत्रमा आए १ हजार ३ सय बढी बिदेशी पर्यटक

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ७ । अघिल्लो आर्थिक बर्ष २०८२।८३ मा ताप्लेजुङस्थित कञ्चनजंघा संरक्षण क्षेत्रमा १ हजार ३ सय बढी बिदेशी पर्यटक आएका छन् ।

कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोदकुमार यादवका अनुसार सार्क राष्ट्रका ७९ सहित अघिल्लो आवमा १ हजार ३ सय ३१ जना बिदेशी पर्यटक आएका छन् । सार्क बाहेक अन्य राष्ट्रका १ हजार २ सय ५२ जना बिदेशी पर्यटक संरक्षण क्षेत्रमा आएको संरक्षण अधिकृत यादवले जानकारी दिनुभयो । सार्क राष्ट्रका ११ महिला र ६८ पुरुष गरी ७९ तथा सार्क बाहेक अन्य देशका ८ सय १३ पुरुष र ४ सय ३९ महिला गरी १ हजार २ सय ५२ जना बिदेशी पर्यटक कञ्चनजंघा संरक्षण क्षेत्र आएका संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । ४८ पुरुष र १ महिला गरी ४९ जना नेपाली समेत संरक्षण क्षेत्र पुगेका छन् । १ हजार २ सय ५२ जना विदेशी पर्यटक आउँदा संरक्षण क्षेत्र कार्यालयले २५ लाख ४ हजार रुपैयाँ दस्तुर संकलन गरेको छ ।

संरक्षण क्षेत्र कार्यालयले सार्क राष्ट्र बाहेकका बिदेशी पर्यटकबाट जनही २ हजार रुपैयाँका दरले दस्तुर लिने गरेको छ । यस्तै सार्क राष्ट्रका ७९ पर्यटकबाट जनही ५ सय रुपैयाँका दरले ३९ हजार ५ सय रुपैयाँ दस्तुर लिएको समेत संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । ४९ जना नेपाली नागरिकबाट जनही १ सय रुपैयाँका दरले ४ हजार ९ सय रुपैयाँ राजश्व लिएको संरक्षण अधिकृत यादवले जानकारी दिनुभयो । घुन्सामा १२ पटक र तापेथोकमा ४८ पटक हेलिकोप्टर अवतरण गर्दा कार्यालयले प्रतिपटक ३ हजार रुपैयाँका दरले कूल १ लाख ८० हजार रुपैयाँ संकलन गरेको छ । वन क्षेत्रको रोयल्टी काठ,बालुवा र जडिबुटी वापत संरक्षण क्षेत्र कार्यालयले ८ लाख ४० हजार ७ सय ७१ रुपैयाँ असुल गरेको छ । कार्यालयले ३५ लाख ६९ हजार १ सय ७१ रुपैयाँ राजश्व संकलन गरेको समेत जनाएको छ ।

विश्वको तेस्रो अग्लो हिमाल रहेको ताप्लेजुङमा विदेशी पर्यटकका सामान देखि पर्यटक र हिमाल आरोहण तथा अवलोकनका क्रममा बिरामी भएका पर्यटकलाई लिन हेलिकोप्टर आउने–जाने गर्छन् । संरक्षण अधिकृत यादवका अनुुसार अघिल्लो बर्षको साउन,पुस,माघ,फागुन र यसबर्षको असारमा एकजना पनि पर्यटक आएनन् । बिदेशी,सार्क राष्ट्र र नेपाली गरी अघिल्लो बर्षको भदौमा १५,असोजमा २ सय ९३,कात्तिकमा ६ सय ७,मंसिरमा ७८,चैतमा १ सय ४३,बैशाखमा २ सय ४ र जेठमा ४० जना पर्यटक आएका छन् । सबै गरी अघिल्लो आवमा १ हजार ३ सय ८० जना पर्यटक संरक्षण क्षेत्रमा पुगेको यादवले जानकारी दिनुभयो ।

Similar Posts