दुर्गादलका गुल्मपति खड्को सरुवा,नयाँ गुल्मपतिमा जवरा
उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ५ । ताप्लेजुङका सुरक्षा अधिकारीहरुको सरुवा भई नयाँ सुरक्षा अधिकारीहरु आउन थाल्नु भएको छ । पछिल्लो समय दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा भएको छ । अब गुल्ममा नयाँ गुल्मपतिको रुपमा कितार्थ शमशेर जवराले जिम्मेवारी सम्हाल्नु हुने छ । जवरा ताप्लेजुङ आई सक्नु भएको छ । जवराले सैनिक जनसम्पर्क निर्देशनालयमा समेत रहेर कार्य सम्पादन गरिसक्नु भएको छ ।
अघिल्लो बर्षको साउन १ गते ताप्लेजुङ आउनु भएका खड्काले दुर्गादल गुल्मको गुल्मपतिको रुपमा बर्षदिन कार्यभार सम्हाल्नु भएको छ । असल समन्वयकर्ता,विपद् व्यवस्थापनमा दखल र जिम्मेवारीप्रति असल दायित्ववोधको कार्यशैलीका कारण खड्का ताप्लेजुङबासीमाझ असल सुरक्षा अधिकारीको रुपमा दरिनु भएको थियो ।
यसअघि सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकको पनि सरुवा भइसकेको छ । अब कञ्चनजंघा गुल्मको जिम्मेवारी सशस्त्र प्रहरी नायव उपरीक्षक धनबहादुर बोहोराले सम्हाल्नु हुने छ । बोहोरा समेत जिम्मेवारी सम्हाल्न गुल्ममा आइसक्नु भएको छ । पाठक अघिल्लो बर्षको साउन २ गते कञ्चनजंघा गुल्मको गुल्मपतिको रुपमा आउनु भएको थियो । खड्का र पाठक दुबैले नयाँ गुल्मपति क्रमशःजवरा र बोहोरालाई बझबुझारथ गरेपछि उहाँहरु ताप्लेजुङबाट नयाँ जिम्मेवारी सम्हाल्न जानु हुने छ ।
यसअघि ताप्लेजुङको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा उमेशकुमार दाहालले जिम्मेवारी सम्हालिई सक्नु भएको छ । यसअघिका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँको सरुवा भएपछि दाहाल यहाँको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएको हो । दाहालले असार २८ गतेबाट जिम्मेवारी सम्हाल्न थाल्नु भएको छ । जिल्ला प्रहरी प्रमुख(डिएसपी)उमेश जोशीले सो भन्दा अघिका जिल्ला प्रहरी प्रमुख बेदप्रसाद गौतमको सरुवा पछि नयाँ प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालिई रहनु भएको छ ।