खाद्यको ताप्लेजुङ शाखा कार्यालयद्धारा आव २०८२।८३ मा १ करोड ६ लाख बढीको चामल बिक्री

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ६ । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखा कार्यालयले आर्थिक बर्ष २०८२।८३ मा १ करोड ६ लाख बढीको चामल बिक्री गरेको छ ।

खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङका शाखा प्रमुख प्रकाश तिम्सिनाका अनुसार १ करोड ६ लाख ७३ हजार ५ सय ७५ रुपैयाँ बराबरको चामल बिक्री भएको छ । एक आर्थिक बर्षको अवधिमा कार्यालयले १ हजार ४ सय ७४ क्विन्टल चामल बिक्री गरेको जनाएको छ । कुल बिक्री भएकोमध्ये ७ सय ७७.७५ क्विन्टल जिरा मसिनो र ६ सय ९६.५ क्विन्टल सोना मन्सुली चामल रहेको समेत शाखा प्रमुख तिम्सिनाले जानकारी दिनुभयो ।

शाखा प्रमुख तिम्सिनाका अनुसार कार्यालयले जिरा मसिनो चामल ६४ लाख २ हजार २ सय ५० रुपैयाँको र सोना मन्सुली चामल ४२ लाख ७१ हजार ३ सय २५ रुपैयाँ बराबरको बिक्री गरेको छ । कार्यालयले एक आर्थिक बर्षको अवधिमा जनतालाई ४ लाख ७७ हजार ७ सय ५० रुपैयाँ बराबरको छुट सहुलियत समेत प्रदान गरेको जनाएको छ ।

शाखा प्रमुख तिम्सिनाका अनुसार कार्यालयले ८ सय ८७.२५ क्विन्टल चामल छुट सहितको मूल्यमा नागरिकलाई बिक्री गरेको हो । जेठ र असारको दुई महिनाको अवधिमा मात्र कार्यालयले ३६ लाख बढी मूल्य बराबरको ५ सय क्विन्टल चामल बिक्री गरेको समेत तिम्सिनाले जानकारी दिनुभयो । अहिले खाद्यसंग ५ सय ५४ क्विन्टल स्टिम जिरा मसिनो र २ सय ७६ क्विन्टल सोना मन्सुली गरी कुल ८ सय ३० क्विन्टल चामल मौज्दात रहेको समेत कार्यालयले जनाएको छ ।

कार्यालयले स्टिम जिरा मसिनो प्रति क्विन्टल ९ हजार २ सय र सोना मन्सुली प्रति क्विन्टल ६ हजार २ सय रुपैयाँका दरले बिक्री गरिरहेको समेत शाखा प्रमुख तिम्सिनाले जानकारी दिनुभयो । कार्यालयले अहिले दैनिक रुपमा १५ देखि १५ क्विन्टलसम्म चामल बिक्री भइरहेको जनाएको छ । विपद्का समयमा आवश्यक पर्ने चामल आफुहरुसंग पर्याप्त मात्रामा रहेको र आफुहरुले यसको जानकारी यहाँका सबै स्थानीय तहहरुलाई समेत गराईसकेको समेत तिम्सिनाले बताउनुभयो ।

Similar Posts