|

आव २०८२।८३ मा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट झण्डै ५ करोड भेटि संकलन,मन्दिरमा अढाई लाख बढी तीर्थालु

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १ । एक आर्थिक बर्षको अवधिमा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट झण्डै ५ करोड रुपैयाँ भेटी संकलन भएको छ । यो अघिल्लो आर्थिक बर्ष भन्दा करिव १ करोड ७१ पाथीभराले बढी हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार २०८२ साल साउन १ गते देखि २०८३ साल असार ३२ गतेसम्ममा मन्दिरबाट ४ करोड ८२ लाख ३ हजार ८ सय ५५ रुपैयाँ भेटी संकलन भएको छ । आर्थिक बर्ष २०८१।८२ मा पाथीभरा मन्दिरबाट ३ करोड ११ लाख ६४ हजार ६ सय ७६ रुपैयाँ भेटि संकलन भएको थियो । हाङवाङका अनुसार सबैभन्दा बढी भेटी गत बैशाख महिनामा संकलन भएको छ । बैशाख महिनामा मात्र १ करोड ६ लाख २८ हजार रुपैयाँ भेटि संकलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत बर्षको साउन महिनामा १० लाख ३९ हजार,भदौ महिनामा ९ लाख ९७ हजार,असोज महिनामा ३३ लाख ८२ हजार,कात्तिक महिनामा ३४ लाख ४८ हजार ५ सय र मंसिर महिनामा ७५ लाख ४९ हजार १ सय रुपैयाँ भेटि संकलन भएको छ । पुस महिनामा २४ लाख २५ हजार,माघ महिनामा १८ लाख ४७ हजार ५ सय,फागुन महिनामा ३१ लाख १० हजार,चैत महिनामा ५८ लाख ४४ हजार ५ सय,जेठ महिनामा ४६ लाख ६० हजार ६ सय र असार महिनामा ३२ लाख ७२ हजार ६ सय ५५ रुपैयाँ भेटि संकलन भएको छ ।
तीर्थालु पनि बढे
आर्थिक बर्ष २०८१।८२ भन्दा बढी संकलनमा बृद्धि भएको ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने दर्शनार्थीको संख्या आव २०८२।८३ मा बृद्धि भएको पाइएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आर्थिक बर्ष २०८२।८३ को एकबर्षे अवधिमा पाथीभरा मन्दिरमा २ लाख ५२ हजार ७८ जना तीर्थालु मन्दिरको दर्शनका लागि आएका छन् । आव २०८१।८२ मा २ लाख ३१ हजार ३ सय ३४ जना भक्तजन मन्दिरको दर्शनका लागि आएका थिए । आव २०८१।८२ भन्दा आव २०८२।८३ मा पाथीभरा मन्दिर आउने दर्शनार्थीको संख्या २१ हजार भन्दा बढी हो ।

क्षेत्र विकास समितिका अनुसार आव २०८२।८३ मा सबैभन्दा बढी दर्शनार्थी बैशाख महिनामा ५२ हजार २ सय २८ जना र सबैभन्दा कम आर्थिक बर्षको सुरुवात महिना गत साउनमा २ हजार १ सय ४६ जना पाथीभरा मन्दिरको दर्शनका लागि आएका थिए । क्षेत्र विकास समितिका अनुसार गत भदौ महिनामा ४ हजार ५ सय ३ जना,असोजमा २९ हजार १ सय ७४ जना,कात्तिकमा ४२ हजार २ सय ६१ जना,मंसिरमा १९ हजार १ सय ८१ जना,पुसमा ५ हजार ९ सय ११ जना,माघमा १० हजार ३ सय २३ जना,फागुनमा १८ हजार ६ सय ५२ जना,चैतमा ४८ हजार १ सय ५५ जना,जेठमा ८ हजार ३ सय ८७ जना र असारमा ११ हजार १ सय ५७ जना पाथीभरा मन्दिरको दर्शनका लागि आएका क्षेत्र विकास समितिको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Similar Posts