सिदिङ्वामा गणित र विज्ञान बिषय पढ्नेलाई आवास सहितको छात्रबृत्ति,डाक्टर पढाउन साउन २ मा आबेदन
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २८ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कक्षा ११ र १२ मा गणित र विज्ञान बिषय लिई अध्ययन गर्न चाहने पालिकाका स्थायी बासिन्दालाई खाने बस्ने सुविधा सहितको अध्ययन छात्रबृत्ति प्रदान गर्ने भएको छ ।
गाउँपालिकाले आयोजना गरेको चालु आर्थिक बर्षको अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनुवाईका क्रमका शनिवार वडा नं २ सादेवामा आयोजित कार्यक्रममा पालिकाका लेखा शाखा प्रमुख भूपेन्द्र बुढाक्षेत्रीले यसका बारेमा जानकारी गराउनु भएको हो । पालिकाले मापदण्ड बनाई तोकेका शिक्षण संस्थामा अध्ययन गरेमा पालिकाले खाने बस्ने सुविधा सहितको अध्ययन छात्रबृत्ति प्रदान बुढाक्षेत्रीले जानकारी दिनुभयो । विज्ञान र गणित बिषयका शिक्षकको अभाव टार्न र पालिकाकै उक्त बिषयको जनशक्ति स्थापित गर्न पालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममार्फत उक्त बिषय समेटेको बुढाक्षेत्रीको भनाई रहेको छ । छात्रबृत्ति प्राप्त गरेका बिद्यार्थीले अध्ययन सकेपछि आफ्नो पालिकामा फर्किएर न्यूनतम् मासिक सुविधामा कम्तिमा दुईबर्ष सेवा दिनुपर्ने नियम रहेको समेत बुढाक्षेत्रीले बताउनुभयो । पालिका अध्यक्ष मानबहादुर राईका अनुुसार पालिकाले कृषि,पशु,स्वास्थ्य,इञ्जिनियरिङ सहितका बिषय अध्ययन गर्ने चाहने बिद्यार्थीका लागि समेत छात्रबृत्ति दिइरहेको छ । एमबिबिएस पढ्न चाहनेका लागि पालिकाले छात्रबृत्ति निर्धारण गरेको र उक्त छात्रबृत्ति यही साउन २ गते आबेदन खुल्ला गरी माग गर्ने तयारी भएको समेत पालिका अध्यक्ष राईले बताउनुभयो ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख बद्रीप्रसाद सिटौलाका अनुसार सिदिङ्वा गाउँपालिकाले पालिकाको लगानीमा पालिकाभरीका सबै बिद्यालयमा पाठ्यपुस्तक अभ्यास पुस्तिकका छापेको छ । बिद्यालयको पाठ्यक्रम अनुसारको पाठ्यपुस्तकले मात्र सबै पाठ्य सन्दर्भ सामग्री अर्पाप्त रहेको महशुष गर्दै पालिकाले प्रति बिद्यालय कम्तिमा ४० हजार देखि बढीमा २ लाख रुपैयाँसम्म खर्च गर्दै आइरहेको समेत सिटौलाले जानकारी दिनुभयो । यसबाहेक पालिकाले कुनै बिद्यालयमा शिक्षक तथा कर्मचारी पदपूर्ति गर्दा लाग्ने खर्च समेत आफैं व्यहोर्दै आएको छ । पालिकाभरीमा कक्षा १२ सम्मको पढाई पूर्ण निःशुल्क रहेको बताउँदै पालिका अध्यक्ष राईले बिद्यार्थीले प्रमाणपत्र निकाल्ने लगायतका कार्यमा कुनै शुल्क तिर्नुनपर्ने बताउनुभयो । पालिकाका कृषि विकाश शाखा प्रमुख विकास थेबेका अनुसार पालिकाले किसानलाई उन्नजातका बिरुवा र यसको रोपण तथा नर्सरी व्यवस्थापन सहितका प्राविधिक जानकारी दिने गरी बिरुवा र प्रविधि दुबै हस्तान्तरण भइरहेको जानकारी दिनुभयो ।
पालिकाका पशु स्वास्थ्य शाखा प्रमुख सन्दीप बाँस्तोलाका अनुसार पालिकाले अनिवार्य बाहेक बस्तुभाउहरुलाई हरेक बर्षको असोज महिना देखि खोप प्रदान गर्ने कार्यतालिका बनाईएको छ । । पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेस सिवाले वडा नं २ सादेवामा वडा सचिवको समस्या रहेको बिषय अबको केहिदिन भित्रमै समाधान हुने बचन दिनुभयो । आफुहरुले प्रशासन शाखाका लागि कर्मचारी माग गरेको लामो समय भएको तर बल्ल प्रदेश लोक सेवा आयोगबाट २ जना प्रशासन कर्मचारीको पदस्थापन भएको जानकारी प्राप्त भएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत सिवाले हाजिर गर्न आउने वित्तिकै वडा सचिव नभएका स्थानमा पालिकाले पदस्थापन गर्ने जानकारी दिनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीहरु महेन्द्रकुमार राई,गोपाल कार्की,तिलबहादुर प्याकुरेल,रामचन्द्र खड्का,अमर बेघा,पदम कार्की,दामोदर अधिकारी,मनिकुमार बर्देवासहितले पालिका क्षेत्रका समसामयिक बिषयमा पालिकासंग जवाफ माग्ने तथा सुझाव दिनु भएको थियो ।
पालिकाकोतर्फबाट पालिका अध्यक्ष राई,उपाध्यक्ष कृष्णकुमारी कडरिया(बन्दना),प्रमुख प्रशासकीय अधिकृत सिवा,प्रशासन शाखा प्रमुख तिवेन्द्र अधिकारी,लेखा शाखा प्रमुख बुढाक्षेत्री,शिक्षा शाखा प्रमुख सिटौला,कृषि शाखा प्रमुख थेबे,पशु स्वास्थ्य प्रमुख बाँस्तोला,पूर्वाधार शाखा प्रमुख रुद्रप्रसाद बेघा,रोजगार संयोजक फूलमाया पन्दाक,उद्यम विकास शाखा प्रमुख कमला वाग्ले सहितले उठेका प्रश्नको जवाफ दिनु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सिवाले सिदिङ्वा गाउँपालिकाको चालु आर्थिक बर्ष २०८२।८३ मा पालिकाको बिषयगत शाखाबाट सम्पादन भएका क्रियाकलाप तथा कुल बजेट र खर्चको अवस्था बारे प्रकाश पार्नु भएको थियो ।