ताप्लेजुङमा अनुमति बेगर ड्रोन उडाउन प्रतिवन्ध
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २६ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी प्रकृया पूरा नगरी पूर्व स्वीकृति बिना(मानव रहित हवाई उपकरण)ड्रोन उडान प्रतिवन्ध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले शुक्रवार एक सूचना जारी गर्दै ड्रोनसंग सम्वन्धित आवश्यक कानुनी प्रकृयाका बारेमा समेत अवगत गराउनु भएको छ । सूचनाको बर्खिलाप गरी यस्ता गतिविधि गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी समेत प्रशासन कार्यालयले दिएको छ । प्रशासन कार्यालयले कसैले ड्रोन उडान गरेको थाह पाए त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा दिन सर्वसाधारणलाई आग्रह समेत गरेको छ । ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा प्रचलित कानुनको प्रतिकूल मानवरहित हवाई उपकरण उडान हुने गरेको गोप्य सूचना तथा सर्वसाधारणको गुनासो आएको भन्दै यसप्रति निरागानी बढाएको समेत प्रशासन कार्यालयले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले ड्रोन उडान सम्वन्धी कार्यविधि २०७५ बारे स्मरण गराउँदै ड्रोन अनिवार्य रुपमा दर्ता गरी उडान अनुमति लिनुपर्ने,बनोट तथा उडान तौल क्षमता अनुसार ड्रोन एवम् सोको उडान वर्गिकरण,उचाई,उडान गर्ने समय,उडानमा संलग्न व्यक्तिको योग्यता,उडान गर्न पाइने कार्यक्षेत्र,उडान अनुमति,म्याद थप तथा नविकरण र उडान गर्दा पालना गर्नुपर्ने सर्त तथा सर्त पालना नगरेमा हुने कारवाही समेतको सबै प्रकृया पूरा भएपछि मात्र ड्रोन उडान गर्न पाइने बताउनु भएको छ । ड्रोन दर्ता तथा उडान सम्वन्धी अनुमति नलिएको अवस्थामा इजाजत खारेजी तथा ड्रोन जफत सहित अन्य कानुनी कारवाही हुनेतर्फ प्रशासनले ध्यानाकर्षण गराएको छ । नागरिकको गोपनियता,व्यक्तिगत सुरक्षा र सामरिक प्रभाव समेतलाई ध्यान दिई सुरक्षा सम्बेदनशिलताका आधारमा ड्रोन उडान गर्नुपूर्व कानुनी प्रावधान पूरा गर्नुपर्ने समेत प्रशासन कार्यालयले जनाएको छ ।