मैवाखोलामा १८ बर्ष भन्दा कम उमेरकाले मदिरा र सूर्तिजन्य सामग्रीको ओसारपसार र बिक्रीबितरण गर्न नपाउने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २८ । १८ बर्ष भन्दा कम उमेरका बालबालिकालाई मदिरा,चुरोट तथा सूर्तिजन्य सामग्रीको ओसारपसार र बिक्री बितरण गर्न दिन नपाउने सहितका १४ बुँदे प्रावधान राखेर ताप्लेजुङको मैवाखोला गाउँपालिकाले बालबालिका सम्वन्धी निमयावली बनाएको छ । तयार भएको नियमावली राजपत्रमा प्रकाशित गरी पालिकाले कार्यान्वयनमा ल्याएको हो । पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार बालबालिकाको हकहित र सम्मानसंगै बालबालिकाको बचावट,संरक्षण,विकास र सहभागिता सहितका सर्बोत्तम हितलाई ध्यान राखी निमयावली बनाईएको हो ।

नियमावली अनुसार पालिका क्षेत्रका कुनैपनि बिद्यालयको दुईसय मिटर दूरीभित्र बिक्री बितरण र उपभोग गर्न प्रतिवन्ध गरिएको छ । बालबालिकालाई अस्लिल साहित्यसंग सम्वन्धित बिषय वा चलचित्र सहित मदिरा,चुरोट र सूर्तिजन्य पदार्थका सामग्रीको प्रचारप्रसारमा प्रयोग गर्न पाइने छैन । नियमावलीले पालिकाका प्रत्येक वडामा बाल पुस्तकालय,बाल सृजना केन्द्र र खेलकुदको प्रवन्धलाई सुनिश्चित गर्ने भनेको छ । पालिका भित्रका बालबालिकाको जन्मदर्ता तथा नागरिकता प्रमाणपत्र पाउने अधिकार सुनिश्चितताका लागि सरल र उपयुक्त विधि अपनाउने पालिकाले भनेको छ । नवजात शिशु र बालबालिकाका लागि आवश्यक सबै किसिमका खोपहरु,स्वास्थ्य सेवा,पोषणसंग सम्वन्धित सुविधा,आवश्यक बालमैत्री भौतिक पूर्वाधारको व्यवस्था,उपकरण र औषधि र व्यवस्था,पालिकाका सम्पूर्ण सेवा प्रवाह बालमैत्री बनाई बालबालिकाको स्वास्थ्य सहितका सम्पूर्ण अधिकार सुनिश्चित गर्ने पालिकाको योजना छ । पालिकाले प्रत्येक बिद्यालयको संरचना बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । जस अन्तरगत बिद्यालयमा सुरक्षित पर्खाल,डेस्क,बेञ्च,टेवल र कक्षाकोठाको पर्याप्त व्यवस्थापन देखि प्रत्येक कक्षाकोठामा पर्याप्त ढंगले हावा आवात–जावत गर्न मिल्ने प्रकृतिको बनाईने छ ।

बिद्यालयमा कुनैपनि किसिमका विभेद,हेपाइ,अवहेलना,दुरव्यवहार र अस्वस्थ्यकर खानामा पूर्ण प्रतिवन्ध गरिने,लैंगिकमैत्री शौचालय,पर्याप्त खानेपानी र सरसफाई,महिनावारी सामग्री र प्रारम्भिक उपचार बाकसलाई पालिकाले प्रत्येक बिद्यालयमा अनिवार्य सर्तको रुपमा अघि बढाउने घोषणा गरेको छ । अपाङ्गता भएका बालबालिकाका लागि पहुँचयोग्य भौतिक संरचना सहित बालमैत्री पठनपाठन,खेलमैदान र सबै अवस्थाका बिद्यार्थीमैत्री खेलकुद सामग्रीको प्रवन्ध गर्ने पालिकाले भनेको छ । स्थानीय तह भित्रका सबै बालबालिकालाई प्रारम्भिक बाल विकास केन्द्र र बिद्यालयमा अनिवार्य रुपमा भर्ना गरिने,बिद्यार्थीलाई प्रदान गरिने छात्रबृत्तिको अनुगमन र मूल्याङ्कन गरी समिक्षाका आधारमा अघि बढ्ने,प्रत्येक बिद्यालयमा बिद्यार्थी,शिक्षक लगायत अन्य सरोकारवालाका लागि वाल संरक्षण मापदण्ड बनाई सहज देखिने गरी राख्ने र सोहि अनुसारका व्यवस्था अनिवार्य रुपमा लागु गर्ने मैवाखोलाको नीति रहेको छ । पालिकाले पछिल्लो समय टड्कारो रुपमा आएको समस्या बालबिबाहको न्यूनीकरण नभई निर्मूलीकरणमा जोड दिएको छ ।

पालिकाले बाल श्रम अन्त्य गर्दै बाबुआमा विहिन र बिशेष संरक्षणको आवश्यकता रहेका बालबालिकाको संरक्षण सुनिश्चित गर्ने भनेको छ । गाउँपालिका भित्रका जनप्रतिनिधि र कर्मचारीलाई बाल अधिकार तथा बालमैत्री व्यवहार,बाल सम्बेदनशिलता र बालमैत्री शासन अभ्यास सम्वन्धी अनुशिक्षण गर्ने,गाउँपालिकाको आवधिक तथा बार्षिक योजना तर्जुमा गर्दा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने र गाउँपालिका भित्रका सबै अवस्थाका बालबालिकाको जनसांख्यिक,जातजाति,लैंगिक,अपाङ्गता,शैक्षिक,छात्रबृत्ति,सामाजिक सुरक्षा सहयोग,बाबुआमा विहिन,जोखिममा परेका,स्वास्थ्य र पोषण,एचआईभी प्रभावित लगाययतको स्थिति बारे खण्डीकृत सूचनाको व्यवस्थित तथ्याङ्क संकलन र अभिलेखीकरण गरी आवधिक रुपमा पालिकाको वेवसाइटमार्फत सार्वजनिक गर्ने पालिकाको प्रतिबद्धता रहेको छ । मैवाखोलाले नियमावलीमार्फत बाल कल्याण अधिकारीको नियुक्ति देखि समाजसेवी र बालमनोविज्ञहरुको सूचीकरण समेतको प्रवन्ध गर्ने जनाएको छ ।

 

Similar Posts