बालबालिका माथि हुने हिंसा र दुर्व्यवहारका बिषयलाई शुन्य सहनशीलताका आधारमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २५ । ताप्लेजुङका सरोकारवालाले बालबालिका माथि हुने हिंसा र दुर्व्यवहारका बिषयलाई शुन्य सहनशीलताका आधारमा कार्यान्वयनमा लैजानेसहितका ७ बुँदे प्रतिबद्धता जनाएका छन् ।
नेपाल सरकारको राष्ट्रिय बाल अधिकार परिषद् कोशी प्रदेश समन्वय समितिले बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजना गरेको ‘बाल संरक्षण प्रणालीको स्थापना तथा सुद्रिढीकरण’बिषयक कार्यशालाका क्रममा उक्त प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । राष्ट्रिय बाल अधिकार परिषद् कोशी प्रदेश समन्वय अधिकृत सुमन अधिकारीका अनुसार बालबालिकाका बिषयमा स्थानीय तहले नीति,कार्यक्रम र बजेटमा उल्लेख्य प्राथमिकता दिने,बालबालिकाको हक अधिकारको संरक्षण र प्रर्वद्धनका कार्यक्रम तय गर्ने सहितका प्रतिबद्धता जनाएका छन् ।
बालबालिका सम्वन्धी ऐन २०७५ ले व्यवस्था गरेका बालबालिका सम्वन्धी प्रावधानहरु,बालबालिका सम्वन्धी कार्यविधि,स्थानीय बाल अधिकार समितिको गठन,बाल कल्याण समितिको व्यवस्था,बालकोषको प्रवन्ध,बालमनोविज्ञ र समाजसेवीको सूचीकरण,बाल क्लव गठन र दर्ता जस्ता बालबालिकाका आधारभूत बिषयलाई कार्यान्वयनमा लैजाने,वाल संरक्षण र प्रर्वद्धनका बिषयमा स्थानीय तहले सरोकारवालालाई एकद्धारबाट लैजान नेतृत्वदायी भूमिका निर्वाह गर्ने,बाल अधिकार संरक्षणका बिषयमा सम्वद्ध सबै निकायको समन्वयमा कार्यक्रमलाई ब्यापक गरी घर परिवारदेखि राज्यको मूल प्रवाहसम्म पुग्ने अभियान सञ्चालन गर्ने र बालबालिका माथि हुने हिंसा,दुर्व्यवहारमा संलग्नलाई कानुनी दाहेरामा ल्याई कारवाही प्रकृयामा लैजान जिम्मेवारीका साथ कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त भएको अधिकारीले जानकारी दिनुभयो ।
यसअघि कार्यक्रममा अधिकारीले बाल अधिकारको संरक्षण र प्रर्वद्धनसंग सम्वन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी व्यवस्थासहितका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति ताप्लेजुङका कार्यवाहक प्रमुख(उपप्रमुख)कृष्णप्रसाद लिङखिम,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,पाँचथरको फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगु,सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई सहितले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममार्फत फुङलिङस्थित युवाबर्ष मावि कैंजले गठन भएको बाल क्लवलाई फुङलिङ नगर उपप्रमुख ओझा,पाँचथरको फालेलुङ गाउँपालिका उपाध्यक्ष जवेगु र सोहि गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं ८ का वडाध्यक्ष श्रीहाङ केरुङले कार्यक्रममार्फत प्राप्त भएको यातायात खर्चवापतको रकम हस्तान्तरण समेत गरेको कार्यक्रम संयोजक दीपेन्द्र सुबेदीले जानकारी दिनुभयो ।
ताप्लेजुङका स्थानीय तहले अहिले बालमैत्री स्थानीय तह बनाउने अभियान भने सुरु गरेका छन् । मैवाखोला र आठराई त्रिबेणी गाउँपालिकाले आउँदो माघ महिना भित्रमा पालिकालाई बालमैत्री स्थानीय तह बनाउन त्यसभित्रका अधिकाँस सूचकहरु पूरा गर्ने गरी कार्ययोजना बनाई अघि बढेको जनाएका छन् । अन्य स्थानीय तहले समेत बालमैत्री स्थानीय तह घोषणा गर्ने योजना अघि बढाईरहेको बताएका छन् ।