तीन स्थानीय तहले मंगलवार बजेट ल्याउँदै,सिदिङ्वाले ल्यायो,बाँकी ५ वटाले बुधवार ल्याउने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ८ । ताप्लेजुङका तीन स्थानीय तहले मंगलवार आगामी आर्थिक बर्ष २०८२।८३ का लागि नीति,कार्यक्रम र बजेट ल्याउने भएका छन् । एक स्थानीय तहले आइतवारनै आगामी आवको नीति,कार्यक्रम र बजेट सभामा प्रस्तुत गरेको छ ।

नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेर सभाबाट पारित समेत गरिसकेको मैवाखोला गाउँपालिकाले मंगलवार आगामी आवका लागि बजेट प्रस्तुत गर्ने भएको छ । पालिका अध्यक्ष विजयप्रकाश वनेमले नीति तथा कार्यक्रम सभाबाट पारित भइसकेको बताउँदै पालिका अब बजेट ल्याउने अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो । सिरिजङ्गा गाउँपालिकाले सोमवार नीति तथा कार्यक्रम सभामा पेश गरेको छ । नीति तथा कार्यक्रम पारित गरेर सिरिजङ्गाले मंगलवार सभामा बजेट प्रस्तुत गर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेले जानकारी दिनुभयो ।

मेरिङदेन गाउँपालिकाले मंगलवार नै नीति,कार्यक्रम र बजेट सभामा प्रस्तुत गर्ने भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिदुर अधिकारीले नीति,कार्यक्रम र बजेटको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । सिदिङ्वा गाउँपालिकाले भने आइतवारै १९ औं गाउँसभा अधिबेशनमा आगामी आवको नीति,कार्यक्रम र बजेट पेश गरिसकेको छ । पालिका अध्यक्ष मानबहादुर राईले आगामी आवको नीति तथा कार्यक्रम र उपाध्यक्ष कृष्णकुमारी कडरिया(बन्दना)ले बजेट प्रस्तुत गर्नु भएको छ ।

ताप्लेजुङका ९ स्थानीय तहमध्ये फुङलिङ नगरपालिका,आठराई त्रिबेणी गाउँपालिका,पाथीभरा याङवरक गाउँपालिका,फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाले भने असार १० गते नीति,कार्यक्रम र बजेट सभामा पेश गर्ने कार्यसूची बनाएका छन् । यहाँका अधिकाँस स्थानीय तहले यसअघि नै सम्वन्धित पालिकाका वडालाई बजेटको सिलिङ समेत प्रदान गरिसकेका छन् ।

 

 

Similar Posts