लेखा प्रणाली व्यवस्थापन,लेखा परीक्षणमा गर्नुपर्ने सुधार र सम्परीक्षणका बिषयमा छलफल गर्न मलेपको टोली

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २५ । महालेखा परीक्षकको कार्यालयका प्रवक्ता तथा नायव महालेखा परीक्षक श्रीकुमार राईले लेखा प्रणाली व्यवस्थापन,लेखा परीक्षणमा गर्नुपर्ने सुधार र सम्परीक्षणका प्रकृयाका बिषयमा सुझाव संकलनको कार्य भइरहेको बताउनु भएको छ ।

लेखा परीक्षणको गुणस्तर र प्रभाव अभिबृद्धि तथा नागरिक सहभागितामा लेखा परीक्षण सम्वन्धी अन्तरक्रियाका लागि पूर्वी नेपाल आइपुगेको महालेखा परीक्षकको कार्यालयका टोली प्रमुख समेत रहनु भएका राईले सोमवार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । राईका अनुुसार नागरिक सहभागितामा लेखा परीक्षण सम्वन्धी अन्तरक्रिया तथा सुझाव संकलन कार्य २०७० सालदेखि लघु रुपमा सुरु भएपनि २०७७ सालदेखि भने काठमाडौंं र देशका शहर केन्द्रित गरी नियमित रुपमा सञ्चालन गरिदैं आएको छ । मंगलवार ताप्लेजुङका सञ्चारकर्मी र नागरिक समाजमा अगुवाहरुकाबिचमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको राईले जानकारी दिनुभयो । मलेपको टोलीले ‘नाम्स’मा बिषयमा यहाँका तीनै तहका सरकारी निकायहरुका लेखा शाखाका कर्मचारीलाई जानकारी गराएको छ ।

नेपाल अडिट व्यवस्थापन प्रणाली(NAMS)एक डिजिटल प्लेटफर्म हो,जुन नेपालका सरकारी निकायहरूमा अडिट प्रक्रियालाई सरल र स्वचालित बनाउनको लागि डिजाइन गरिएको हो । राईको नेतृत्वमा महालेखा परीक्षक कार्यालयका दुईजना निर्देशक सहित आएको ५ जनाको टोलीले सोमवार ताप्लेजुङका संघ,प्रदेश तथा स्थानीय तहका लेखा शाखामा कार्यरत कर्मचारीलाई नाम्सका बारेमा बिस्तार जानकारी गराएको हो । नाम्समा प्रत्येक कार्यालयको आ–आफ्नै आईडी हुन्छ । आन्तरिक लेखा परीक्षणबाट दिएको प्रतिबेदन प्रविष्टी गर्ने र अन्तिम लेखा परीक्षणको प्रतिबेदन समेत नाम्सबाटै हेर्न मिल्ने प्रवन्ध रहेको छ । कामको सिलसिलामा आएका बेरुजु फर्स्योटका प्रमाणहरु समेत नाम्समा प्रबिष्टी गरेर बेरुजु फर्स्योट समेत गर्न सकिन्छ ।

Similar Posts