१२ बुँदे बिशिष्ट उद्देश्यसहित मैवाखोलाले आगामी आवका लागि ल्यायो नीति तथा कार्यक्रम,बजेट अधिबेशन सुरु

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २१ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार गरी शैक्षिक क्षेत्रमा गाउँपालिकालाई अनुकरणीय बनाउनेसहितका १२ बुँदे बिशिष्ट उद्देश्य सहित आगामी आर्थिक बर्ष २०८३।८४ को नीति तथा कार्यक्रम ल्याएको छ । यो संगै मैवाखोला गाउँपालिकाको १९ औं बजेट अधिबेशन समेत सुरु भएको छ ।

मैवाखोलाले संघीय र प्रदेश सरकारको झैं नीति तथा कार्यक्रम प्रस्तुत गर्ने स्थानीय सरकार स्तरीय कार्यविधि नै तयार पारी जेठ महिना भित्रमै आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सुनिश्चित समेत गरेको छ । सोहि अनुुसार मैवाखोलाले ताप्लेजुङका नौ स्थानीय तहमध्ये सबैभन्दा अगाडि आगामी आवका लागि नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेको हो । सभामा पालिका अध्यक्ष विजयप्रकाश वनेमले सामुदायिक विद्यालयको गुणस्तर सुधारलाई पालिकाले पहिलो प्राथमकितामा राखेको बताउनु भएको छ । पालिकाका सामुदायिक विद्यालयहरुमा गुणस्तर र नतिजामा सुधार ल्याई नन्ग्रेड उन्मुल गर्ने पालिकाले नीति ल्याएको छ । कक्षा १ बाट सुरु भएको अंग्रेजीको माध्यमको पठनपाठनलाई आगामी आवबाट कक्षा ३ सम्म पु¥याउने पालिकाले नीति रहेको छ । पालिकाले शिक्षातर्फ बिद्यार्थी पहिचान कार्यक्रम,शिक्षक प्रोत्साहन कार्यक्रम,सबै बिद्यालयमा इन्टरनेटको पहुँच स्थापित गर्ने र मद्यपान,धुमपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्ने र बिद्यालयमा अनियमित तथा अराजक व्यवहार देखाउने शिक्षकलाई कारवाही गर्ने नीतिलाई निरन्तरता दिएको छ ।

पालिकाले युवा तथा खेलकुद सम्वन्धी नीति ल्याउँदै युवाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने,सबै वडाका अधुरा खेलमैदानलाई सम्पन्न गर्ने,पालिकाकै गौरवको रुपमा रहेको मदन भण्डारी रंगशालालाई सम्पन्न गर्न प्रदेश र संघीय सरकार समक्ष सहकार्यको प्रस्ताव गर्ने नीति ल्याएको छ । पूर्वाधार विकासतर्फ सडक यातायात,पक्की पुल तथा झोलुङ्गे पुल सम्वन्धी नीतिमा पालिकाले बसन्तपुर–गुफा–साँघु–ढुङगेसाँघु–दोभान सडकलाई थप स्तरोन्नती निरन्तर गरिने सहितका नीति ल्याएको छ । भवन तथा वस्ति विकास र सार्वजनिक निर्माण सम्वन्धी कार्यतर्फ आगामी आव भित्र फुसको छानो बिस्थापन भएको पालिका बनाउने घोषणा नीतिमार्फत गरिएको छ। विद्युत तथा वैकल्पिक उर्जातर्फ विद्युत बिस्तार हुन बाँकी रहेका टोल बस्तिहरुमा केन्द्रीय विद्युत प्रसारण लाइन जडान गरी विद्युत उपभोग पहुँच सुनिश्चित गरी उज्यालो गाउँपालिका घोषणा गर्ने नीति गाउँपालिकाले ल्याएको छ ।

सूचना,सञ्चार तथा प्रविधि सम्वन्धी नीतितर्फ गाउँपालिकामा बिस्तार भएको फाइवर नेटको गुणस्तरमा सुधार ल्याउने र गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रविधिमैत्री बनाइने घोषणा गरिएको छ । स्वास्थ्यतर्फ वडा नं ४ ताम्राङ स्वास्थ्य चौकीको रुपमा दर्ता गरी चालु आव भित्रै सञ्चालनमा ल्याउने,गाउँपालिका भित्रका जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरुको आधारभूत स्वास्थ्यप्रति जवाफदेहि बन्दै महिनामा एकपटक स्वास्थ्यकर्मी घरमै पठाई प्राथमिक स्वास्थ्य परीक्षण तथा औषधि उपलब्ध गराउने कार्यलाई पालिकाले नीतिमार्फत निरन्तरता दिने बताएको छ । नसर्ने रोगको उपचारका लागि आर्युबेद गाउँघर क्लिनिक सञ्चालन गर्ने,जेष्ठ नागरिकको उपचार गर्न रसायन औषधि बितरण कार्यक्रम सुरु गर्ने,पञ्चकर्म सेवालाई थप प्रभावकारी बनाई शिरोधारा,थेरापी जस्ता सेवाहरु सञ्चालन गर्ने,नागरिक आरोग्य कार्यक्रम सञ्चालन गर्ने पालिकाको नीति रहेको छ ।

आर्थिक सशक्तीकरणमा जोड दिदैं पालिकाले महिला,बालबालिका तथा जेष्ठ नागरिक,अपाङ्गता तथा लक्षित वर्ग उत्थान सम्वन्धी नीति ल्याएको छ । नीतिमा महिलाहरुलाई सीपमुलक तथा आयआर्जन सम्वन्धी कार्यक्रम सञ्चालन गर्ने,जेष्ठ नागरिक सम्मान कार्यक्रम गर्ने,सामाजिक सुरक्षा भत्ता वडाबाटै उपलब्ध गराइने,दलित समुदायलाई लक्षित गरी सुरु भएको अध्यक्ष कोषलाई निरन्तरता दिइने,छात्रबृत्ति तथा सीप विकास कार्यक्रम सञ्चालन गर्ने मैवाखोलाले नीतिमार्फत घोषणा गरेको छ । भाषा,साहित्य,कला र सम्पदा सम्वन्धी नीति प्रस्तुत गर्दै पालिकाले पालिका क्षेत्रका ऐतिहाँसिक सम्पदाको संरक्षण गर्ने,रैथाने कला,साहित्य,संस्कृति र भाषाको जगर्ने गर्दै संरक्षण,सम्र्वद्धन र प्रर्वद्धनका कार्यक्रम सञ्चालन गर्ने भनेको छ । पालिकाले खानेपानी तथा सरसफाईतर्फ एक घर,एक धारा नीतिलाई निरन्तरता दिने,डम्पिङ साइट निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने,गाउँपालिकाका मुख्य बजार,सार्वजनिक स्थल,विद्यालय र स्वास्थ्य संस्थाहरुमा कुहिने र नकुहिने प्रकृतिका फोहोरको वर्गिकरण गरी सोहि अनुसार व्यवस्थापन गर्ने भनेको छ ।

आर्थिक विकासतर्फ पालिकामा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाई पालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने,प्राङ्गारिक खेतिको आधारमा कृषकलाई प्रोत्साहन गरिने,रैथानेवाली,फलफूल र तरकारी बालीलाई बिशेष प्राथमिकता दिने पालिकाले नीति ल्याएको छ । सहकारीतर्फ गाउँपालिकाले सहकारी सम्वन्धी दीर्घकालिन दशबर्षे नीति ल्याउने भनेको छ । पालिका क्षेत्रमा भएका वचत तथा ऋण सहकारी संस्थाहरुलाई पुँजीबृद्धि गर्नका लागि वित्तीय सहकारी केन्द्रीय संघसंग साझेदारी गरी सहुलियत व्याजदर तथा पालिकाको जिम्मेवारीमा संस्थालाई लगानी गर्ने वातावरण मिलाउने मैवाखोलाको नीति छ । पालिकाले पशुपंक्षी विकास सम्वन्धी,लघु उद्यम तथा नागरिकको आय आर्जन सम्वन्धी,श्रम तथा रोजगार सम्वन्धी,सिचाँई,पर्यटन प्रर्वद्धन,वन वातावरण तथा विपद् व्यवस्थापन,भू–तथा जलाधार सम्वन्धी,वातावरण तथा स्वच्छता सम्वन्धी,विपद् व्यवस्थापन तथा जलवायु अनुकूलन सम्वन्धी,सुशासन तथा संस्थागत विकास सम्वन्धी,संस्थागत विकास तथा मानव संशाधन विकास तथा सेवा प्रवाह सम्वन्धी,वित्तीय स्रोत परिचालन सम्वन्धी र योजना व्यवस्थापन सम्वन्धी नीति समेत सभामार्फत घोषणा गरेको छ ।

 

 

 

Similar Posts