खाद्यको ताप्लेजुङ शाखाले छुट सहित चामल बिक्री गर्दै,शाखा प्रमुख भन्छन्‘फोन गरेर आए बिदाका दिन पनि चामल दिन्छौं’
खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १८ । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले प्रति किलोग्राम ५ रुपैयाँ छुट दिएर चामल बिक्री गर्न थालेको छ । बिदाका दिनमा समेत कार्यालयमा फोन सम्पर्क गरी आउने सेवाग्राहीलाई चामल दिने व्यवस्था गरिएको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका प्रमुख प्रकाश तिम्सिनाका अनुसार शाखाले प्रति क्विन्टल ५ सय रुपैयाँ छुट दिई चामल बिक्री गरिरहेको छ । खाद्यले अहिले स्टिम जिरा र सोना मन्सुली गरी दुई प्रकृतिका चामल बिक्री गरिरहेको छ । तिम्सिनाका अनुसार दुबै प्रकृतिका गरी अहिले दैनिक ३० देखि ४० बोरा चामल बिक्री भइरहेको छ । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका सूचना अधिकारी जलान्धर प्रसाद यादवका अनुसार दुबै प्रकृतिका गरी ३ सय क्विन्टल चामल छुट मूल्यमा बिक्री गर्ने योजना बनाईएको थियो । उक्त परिमाणमध्ये १ सय १० क्विन्टल चामल छुट सहितको मूल्यमा बिक्री भइसकेको र अब १ सय ९० क्विन्टल चामल छुट सहितको मूल्यमा बिक्री गर्न सकिने यादवले जानकारी दिनुभयो ।
शाखा प्रमुख तिम्सिनाका अनुसार स्टिम जिरा मसिनो चामलको साविक मूल्य प्रति क्विन्टल ८ हजार ४ सय रुपैयाँ रहेकोमा क्विन्टलमा ५ सय रुपैयाँ छुट दिई प्रति क्विन्टल ७ हजार ९ सय रुपैयाँमा बिक्री गरिदैं आएको छ । यस्तै सोना मन्सुली चामल प्रति क्विन्टल ५ हजार ९ सय रुपैयाँमा बिक्री गरिदैं आएकोमा प्रति क्विन्टल ५ सय रुपैयाँ छुट गरी अहिले प्रति क्विन्टल ५ हजार ४ सय रुपैयाँमा बिक्री भइरहेको समेत शाखा प्रमुख तिम्सिनाले जानकारी दिनुभयो । चामल गुणस्तरीय रहेको र उपभोक्ताको माग समेत बढ्दो रहेको बताउँदै तिम्सिनाले छुट सहितको मूल्यमा चामल खरिदका लागि सर्वसाधारणलाई आग्रह गर्नु भएको छ ।