| |

ताप्लेजुङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइयो

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक २५ । ताप्लेजुङमा किराँत धमका महागुरु तथा १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती भव्यरुपमा मनाइएको छ । सदरमुकामसहितका ठाउँमा महागुरु लिङ्देनको १४१ औँ जन्मजयन्ती मंगलबार भव्यरुपमा मनाइएको हो ।
किराँतीहरुको धार्मिक संस्था किराँत धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङको आयोजनामा सदरमुकाम फुङ्लिङमा महागुरु लिङ्देनको जन्मजयन्ती मनाइएको हो । फुङ्लिङ बजारमा धार्मिक तथा शान्ति ¥यालीसहित विविध कार्यक्रम गरी लिङ्देनको जन्मजयन्ती मनाइएको किराँत धर्म तथा साहित्य उत्थान संघका जिल्ला अध्यक्ष कर्ण पालुङ्वाले जानकारी दिनुभयो ।
अध्यक्ष पालुङ्वाका अनुसार केःलाङ (च्याब्रुङ नाच) लगायतका संस्कृति प्रदर्शनसहित भौलिक भेषभूषा र पहिरनका साथ बृहत शान्ति तथा धार्मिक ¥यालीले फुङ्लिङ बजार परिक्रमा गरिएको छ । ¥यालीद्वारा बजार परिक्रमापछि बिहीबारे टोलमा रहेको किरात माङ्हिम (मन्दिर) परिसरमा लिङ्देनको जन्मजयन्ती विशेष औपचारिक कार्यक्रम गरिएको छ ।
किराँत धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वाको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरिएको अभियान्ता मुक्साम लाबुङले जानकारी दिनुभयो । लाबुङका अनुसार कार्यक्रममा केःलाङ, याःलाङ (धान नाच), येवा लाङ (बिजुवा नाच) सहितका साँस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको छ ।
यस्तै कार्यक्रममा महागुरु तथा राष्ट्रिय विभूति लिङ्देनले समाज सुधार लगायतका कार्यमा पु¥याएको योगदानबारे वक्ताहरुले चर्चा गर्नुभएको थियो । जयन्ती कार्यक्रममा फुङ्लिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ, सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक लगायतको उपस्थिति रहेको थियो ।
यता महागुरु लिङ्देनको जन्मजयन्तीको अवसरमा सोमबारदेखि नै किराँत धर्मावलम्बीले बिहीबारे माङ्हिममा मौलिक संस्कृतिअन्तर्गत गाली सराप बहन्ती, माङसावा सेवा, पूजापाठ लगायतका गतिविधि गरेको किराँत धर्म तथा साहित्य उत्थान संघले जनाएको छ । त्यस्तै फुङ्लिङ बजारको तोक्मेडाँडामा रहेको लिङ्देनको सालिकमा फूलमाया लगायतले सजिसजावट गर्नुका साथै दीप प्रज्ज्वलनको कार्य गरिएकोसमेत संघले जनाएको छ ।
यसैगरी सदरमुकामबाहेक जिल्लाका विभिन्न ठाउँमा रहेका किराँत माङहिम (मन्दिर) र महागुरु लिङ्देनको सालिक राखिएका ठाउँमा पनि जन्मजयन्ती विशेष कार्यक्रम तथा किराँत संस्कृतिका गतिविधिहरु गरिएको बताइएको छ । राष्ट्रिय विभूति तथा किराँत महागुरु लिङ्देनको जन्म वि.सं १९४२ कात्तिक २५ गते इलामको इभाङ चुक्चिनाम्बा गाउँमा भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका कार्यमा पु¥याएको योगदानको मूल्यांकन गरी सरकारले २०६६ मङ्सिरमा लिङ्देनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

Similar Posts