एसईईमा ताप्लेजुङमा साधारण नियमिततर्फ ४५ र प्राविधिकधारतर्फ ७५ प्रतिशत उर्तीण
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २९ । माध्यमिक शिक्षा परीक्षामा ताप्लेजुङबाट साधारण नियमिततर्फ ४५ र प्राविधिकधारतर्फ ७५ प्रतिशत बिद्यार्थी उत्र्तीण भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्राविधिक सहायक आशिष घिमिरेले नतिजा संकलन गर्ने काम भइरहेकोले साधारण र प्राविधिक दुबैधारतर्फ ग्रेडबृद्धिको उत्र्तीण अवस्था आउन केहि समय लाग्ने जानकारी दिनुभयो । उहाँका अनुसार साधारण नियमिततर्फ १ हजार ३ सय ४८ परीक्षार्थीमध्ये ६ सय ९ जना उर्तीण भएका छन् । प्रतिशतका हिसावले यो ४५.१८ हुन आउँछ । प्राविधिकधार नियमिततर्फ ९६ जना सहभागी भएकोमा ७२ जना अर्थात् ७५ प्रतिशत उर्तीण भएका छन् ।
जिल्लाभरमै सबैभन्दा बढी जिपिए बासुसं मावि मेदिवुङका गस्तिहाङ पालुङ्वाले ल्याउनु भएको छ । अहिलेसम्म प्राप्त विवरणका आधारमा पालुङ्वाले ल्याएको ३.८४ जिपिए जिल्लाकै पहिलो देखिएको घिमिरेले जानकारी दिनुभयो । संस्थागततर्फ भने लिटलबुद्ध आवासीय माविका स्वयल लिम्बूले सबैभन्दा बढी जिपिए ल्याउनु भएको छ । उहाँले ३.८० जिपिए प्राप्त गर्नु भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाईका अनुसार ३ देखि ३.८४ सम्मको जिपिए ल्याउनेको संख्या १ सय ६२ रहेको छ । प्राविधिकधारतर्फ भने भानुजन माविकी निस्मा गुरुङले ३.७३ जिपिए ल्याउनु भएको छ । प्राविधिकधारतर्फ ५४ जनाले ३ देखि ३.७३ सम्मको जिपिए ल्याएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।