एसईई नतिजामा गस्तीहाङ र प्रीति जिल्लाकै सर्बोत्कृष्ट
-प्रयास लिम्बू
ताप्लेजुङ, बैशाख २९ । ताप्लेजुङमा यसवर्षको विद्यालय शिक्षा परीक्षा (एसईई) मा गस्तीहाङ पालुङ्वा लिम्बूले जिल्लाकै सर्बोत्कृष्ट नतिजा ल्याउनुभएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ सार्वजनिक गरेको एसईईको नतिजाअनुसार पालुङ्वा सर्बोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी हुनुभएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका अनुसार जिल्लाकै सर्बोत्कृष्ट नतिजा प्राप्त सफल पालुङ्वा फुङ्लिङ नगरपालिकाको बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयबाट एसईईमा सहभागी हुनुभएको थियो । साधारणतर्फका छात्र पालुङ्वाले ३.८४ जिपिए प्राप्त गर्नुभएको छ ।
त्यस्तै छात्रातर्फ फुङ्लिङ नगरपालिकाकै लिटलबुद्ध बोर्डिङ स्कूलकी प्रीति लिम्बू सर्बोत्कृष्ट हुनुभएको छ । लिम्बूले ३.७५ जिपिए प्राप्त गरी जिल्लाकै सर्बोत्कृष्ट नतिजा ल्याउने छात्रा हुनुभएको हो । बाल सुबोधिनी संस्कृत मावि सामुदायिक र लिटलबुद्ध संस्थागत अर्थात निजी विद्यालय हो ।
यस्तै जिल्लामा प्राविधिक धारतर्फ फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयकी निस्मा गुरुङ सर्बोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी हुनुभएको छ । प्राविधिक धारतर्फकी गुरुङले ३.७३ जिपिए प्राप्त गर्नुभएको छ । भानुजन माविकै प्रकृति तामाङ सामुदायिक विद्यालयतर्फ सर्बोत्कृष्ट नतिजा ल्याउने छात्रा हुनुभएको छ ।
सामुदायिकतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा तामाङको ३.६७ जिपिए रहेको छ । यसैगरी संस्थागत विद्यालयतर्फ जिल्लाकै सर्बोत्कृष्ट नतिजा ल्याउनेमा लिटबुद्धका स्वयल लिम्बू हुनुभएको छ । लिम्बूले ३.८० जिपिए ल्याउनुभएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक आशिष घिमिरेका अनुसार ताप्लेजुङबाट यासवर्ष साधारणतर्फ एक हजार ३४८ जनाले परीक्षा दिएकोमा ६०९ जना अर्थात ४५.१८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै प्राविधिक धारतर्फ १६२ जनाले एसईई दिएको ७२ जना (७५ प्रतिशत) उत्तीर्ण भएका घिमिरेले जानकारी दिनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख योगेश्वर भट्टराईका अनुसार जिल्लाभरका ६१ सामुदायिक विद्यालय र सात वटा संस्थागत विद्यालयका विद्यार्थीले एसईई दिएका दिएका थिए । एसईईको नतिजा सार्वजनिक भएपछि जिल्लाबाट सत् प्रशिसत विद्यार्थी उत्तीर्ण भएका विद्यालय, परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीको जिपिए तथा ग्रेड प्रमाणितको कार्य भइरहेको इकाइ प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
यता लिटलबुद्ध बोर्डिङ स्कूलले भने पूर्वघोषित योजनाअनुसार ३.२ देखि माथि जिपिए ल्याउने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । बोर्डिङका प्रिन्सिपल युवराज गिरीले नतिजामा ३.२ देखि ३.६ जिपिए अर्थात ‘ए’ ग्रेड ल्याउने विद्यार्थीलाई जनही पाँच हजार र ३.६ जिपिएभन्दा माथि ‘ए’ प्लस ग्रेड ल्याउनेलाई जनही १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताउनुभयो ।