मैवाखोलाका विपद् पीडितलाई स्थायी पुर्नवास गर्न पीडित पुर्नवास सञ्चालन कार्यविधिका प्रावधान ‘बाधक’

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २६ । ताप्लेजुङको मैवाखोला गाउँपालिका विपद् पीडित परिवारको स्थायी पुर्नवास प्रकृयामा संघीय सरकारले बनाएको विपद् पीडित पुर्नवास सञ्चालन कार्यविधि बाधक बनेको छ ।

गाउँपालिकाले विपद् पीडितलाई कम्तिमा एक रोपनी जग्गा दिएर स्थायी पुर्नवासको प्रकृया अघि बढाउने गृह कार्य गरिरहेका बेला विपद् पीडित पुर्नवास सञ्चालन कार्यविधिले पीडितलाई दिने जग्गाको परिमाणका कारण अवरोध सृजना भएको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम पहिरो पीडित परिवारलाई स्थायी पुर्नवासको कार्य अघि बढाउन गाउँपालिकाले चालेको कदममा संघीय सरकारको कार्यविधि अवरोधक रहेको बताउँनुहुन्छ । उहाँका अनुसार पहिरो प्रभावित ६५ घर परिवारका लागि पालिकाले प्रति घरधुरी कम्तिमा एक रोपनी जग्गा दिएर व्यवस्थापनको प्रकृया अघि बढाएकोमा विपद् पीडित पुर्नवास सञ्चालन कार्यविधिले यो प्रकृयामा रोक लगाईदिएको छ ।‘विपद् पीडितलाई कम्तिमा आँगन,घु¥याउन र करेसाबारीसम्म पुग्नेगरी पालिकाले प्रतिघरधुरी एक रोपनी जग्गा उपलब्ध गराई पुर्नवासको प्रकृया सुरु गर्ने योजना बनाएको हो’पालिका अध्यक्ष वनेमले भन्नुभयो‘तर जग्गाको परिमाणका कारण कार्यविधिले प्रश्न उठाएपछि प्रकृया अघि बढ्न सकेन’। उहाँले संघीय सरकारद्धारा निर्मित विपद् पीडित पुर्नवास सञ्चालन कार्यविधि संशोधन हुनुपर्ने वा सरकारले यस सम्वन्धी कायम रहेको समस्याको गाँठो फुकाईदिनुपर्ने बताउँनुहुन्छ ।

वनमेका अनुसार विपद् पीडितलाई बढीमा ६ आना मात्र जग्गा दिन सकिने कार्यविधि रहेको छ । विपद् पीडित पुर्नवास सञ्चालन कार्यविधि २०७१ को अनुसूची १ (दफा ११ को उपदफा(१)संग सम्वन्धित)मा विपद् पीडितलाई जग्गाको हद,आवासको नमूना र डिजाइन तथा पूर्वाधार सम्वन्धी व्यवस्था गरिएको छ । पीडित परिवारले आफुहरुलाई कम्तिममा एक रोपनी जग्गा भएमा मात्र पुर्नवास प्रकृयामा सहभागी हुने भनी पालिकामा लिखित निबेदन समेत दिएका छन् । पालिकाले समेत पीडित परिवारको माग आउनु भन्दा पहिले नै पीडित परिवारलाई प्रति घरधुरी कम्तिमा एक रोपनी जग्गा दिएर स्थायी पुर्नवासको प्रकृया अघि बढाउन आवश्यक सबै तयारी पूरा गरेपनि संघीय सरकारको कार्यविधि अनुसार स्थायी पुर्नवासको प्रकृया अघि बढ्न नसकेको पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । २०८० साल असार २ गते राति आएको बर्षा सहितको पहिरोले मैवाखोला गाउँपालिका वडा नं ४ को ओदक र ताम्राङका ६५ घर परिवार घरबारबिहिन भएपछि पालिकाले वडा नं ३ स्थित निर्माणाधिन मदन भण्डारी रंगशालामा अस्थायी आवास निर्माण गरी विपद् पीडितलाई २०८० साल असोज ८ गते अस्थायी आवास हस्तान्तरण गरेको हो ।

स्थायी पुर्नवास प्रकृयाका लागि पालिकाले वडा नं ४ स्थित तालदेखि पूर्व आहाल डाँडा,हेलिप्याड पश्चिम,जुकेपानी मुहान देखि दक्षिण र कँदेले डाँडा देखि उत्तर भित्रको क्षेत्र तथा वडा नं ३ स्थित लुकुवा खोला देखि पश्चिम,कागते खोला देखि पूर्व,बाङ्गेलाम बस्ती देखि उत्तर र लुकुवा तेर्सो सडक देखि दक्षिण सम्मको क्षेत्रको जग्गामध्ये सम्भाव्य कम्तिमा तीन क्षेत्रको जग्गा पहिचान गरी भौगर्भिक अध्ययन सहित उपयुक्त जग्गा पहिचान गरिसकेको छ । भौगर्भिक रुपले बसोबासका लागि उपयुक्त जग्गा छनौट गरी आवश्यक प्रकृया समेत अघि बढाएको पालिकाले स्थायी पुर्नवासका लागि स्थानीय कार्यपालिका,जिल्ला विपद् व्यवस्थापन समिति हुँदै संघीय सरकारको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आवश्यक कागजात सहितको प्रकृया अघि बढाएपनि जग्गाकै हदका कारण उक्त कार्य पूरा हुन नसकेको पालिका अध्यक्ष वनेम बताउँनुहुन्छ ।

पीडितको माग र व्यवहारिकता समेतलाई हेरेर गरिएको निर्णयमा संघीय कार्यविधिले उल्झन सृजना गरेको पालिकाको ठहर छ । पालिकाले सञ्चालन गरेको सार्वजनिक सुनुवाईका क्रममा विपद् पीडितको स्थायी पुर्नवास सम्वन्धी प्रश्न आएपछि अध्यक्ष वनेमले आफुले विपद् पीडित पुर्नवास सञ्चालन कार्यविधि संशोधन र पालिकाले अघि बढाएको स्थायी पुर्नवास प्रकृयाको पूर्णताका लागि गरेको पहल र प्रयासको हेरिहस्त समेत प्रस्तुत गर्नु भएको थियो ।‘तपाँइहरु पहिरोबाट उठिबास लागेर दुःखमा पर्नुभयो,म तपाँईहरुको माग अनुसारको प्रकृया अघि बढाउँदा कानुनी अड्चनका कारणसमस्यामा परिसकें’विपद् पीडितलाई पालिका अध्यक्ष वनेमले भन्नुभयो । उहाँले पीडितको माग र पालिकाको योजना अनुसार नै स्थायी पुर्नवास प्रकृया अघि बढाउन आवश्यक पैरवी र पहल गर्ने आफ्नो दैनिकी नथाक्ने प्रतिबद्धता जनाउनुभयो ।

Similar Posts