ताप्लेजुङमा देखिएन बर्ड फ्लु रोगको संक्रमण,थप पंक्षी तथा पंक्षीजन्य उत्पादनको आयातमा भने कडाई

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ६ । पंक्षी तथा पंक्षीजन्य उत्पादनको एन्टिजेन नमूना परीक्षण गर्दा एभियन इन्फ्लुएन्जा भाइरस नभेटिएपनि पूर्व सर्तकर्ताका लागि तराईका तीन जिल्लाबाट पंक्षी तथा पंक्षीजन्य उत्पादनको आयातमा गरिएको कडाईलाई निरन्तरता दिइने भएको छ ।

जिल्ला बर्ड फ्लु रोग रोकथाम तथा नियन्त्रण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले झापा,मोरङ र सुनसरी गरी तीन जिल्लाबाट पंक्षी तथा पंक्षीजन्य उत्पादनको आयातमा गरिएको प्रतिवन्धलाई कायम राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङ भित्रने मुख्य नाकाहरुमा पंक्षी तथा पंक्षीजन्य उत्पादनको आयात तथा निर्यातमा कडाई गरिएको छ ।

बर्ड फ्लु रोगको संक्रमण एकिन गर्न शनिवार भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्राविधिहरुले पंक्षी तथा पंक्षीजन्य उत्पादनको नमूना संकलन गरी परीक्षण गरेका थिए । १८ वटा पसलबाट लिईएको नमूना परीक्षण गर्दा एभियन इन्फ्लुएन्जा भाइरस नभेटिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालले जानकारी दिनुभयो ।‘यो परीक्षणका क्रममा बर्ड फ्लु सम्वन्धी कुनै संक्रमण भेटिएन’डाक्टर दाहालले भन्नुभयो‘थप आयात गरिएको बाहेक यहीको उत्पादनको उपभोगका लागि कुनै समस्या देखिएन’ । उहाँले बर्ड फ्लु रोग भित्रन नदिन झापा,मोरङ र सुनसरी गरी तीन जिल्लाबाट पंक्षी तथा पंक्षीजन्य उत्पादनको आयात तत्काललाई प्रतिवन्ध गरिएको र सो निर्णय कार्यान्वयनमा सम्पूर्ण व्यवसायीले सघाउनुपर्नेमा जोड दिनुभयो ।

शुक्रवार जिल्ला बर्ड फ्लु रोग रोकथाम तथा नियन्त्रण समितिको बैठकले पंक्षी तथा पंक्षीजन्य उत्पादन बिक्री बितरण गर्ने व्यवसायहरुबाट पंक्षी तथा पंक्षीजन्य उत्पादनको एन्टिजेन नमूना संकलन गरी परीक्षण गर्ने र सोहि अनुसार बर्ड फ्लु रोग रोकथाम तथा नियन्त्रणका लागि थप कार्ययोजना तयार गर्ने निर्णय गरेको थियो । नमूना संकलनपछि गरिएको परीक्षणमा बर्ड फ्लु रोग सम्वन्धी कुनै संकेत फेला नपारेपछि थप आयात नगर्ने र अहिलेसम्मका पंक्षी तथा पंक्षीजन्य उत्पादनको बिक्री बितरण तथा उपभोग साविक झैं नियमित गर्न गराउन सकिने निश्कर्ष जिल्ला बर्ड फ्लु रोग रोकथाम तथा नियन्त्रण समितिले निकालेको छ ।

Similar Posts