|

पर्यटकीय क्षेत्रमा होटल व्यवस्थापन तालिम आयोजना

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ५ । ताप्लेजुङस्थित पर्यटकीय गन्तव्य फुङ्फुङगे झरना रहेको क्षेत्रमा होटल व्यवस्थापनसम्बन्धी तालिम आयोजना गरिएको छ । स्थानीय होटल व्यवसायी तथा होमस्टे (घर बास) सञ्चालकलाई लक्षित गरी होटल व्यवस्थापनसम्बन्धी तालिम आयोजना गरिएको हो ।
मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङ्फुङगे झरना क्षेत्र तेम्बा र आसपासका स्थानमा रहेका होटल व्यवसायी तथा होमस्टे सञ्चालकलाई होटल व्यवस्थापनसम्बन्धी तालिम दिन सुरु गरिएको हो । स्वर्गीय विनोद सुब्बा सिरेङ चङ्बाङ स्मृति प्रतिष्ठानको आयोजनामा शुक्रबार सुरु भएको तालिमको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले उद्घाटन गर्नुभएको छ ।
मिक्वाखोला गाउँपालिकाको आर्थिक सहयोगमा सुरु भएको होटल व्यवस्थापन तालिममा होटल व्यवसायी र होमस्टे सञ्चालक गरी २० जना सहभागी हुनुभएको छ । पर्यटन प्रवर्धन र स्थानीयको आयआर्जन बृद्धि गर्नमा सहयोग पु¥याउने उद्देश्यले होटल व्यवस्थापन तालिम आयोजना गरिएको प्रतिष्ठानका संरक्षक तिलप्रसाद सुब्बाले जानकारी दिनुभयो ।
तालिमको उद्घाटनमा फुङ्फुङगे सहितका पर्यटकीय क्षेत्रको भ्रमण गर्ने पर्यटकको माग र चाहानाअनुसार खानासहित अन्य परिकार तयार गर्नलाई व्यवसायीका लागि होटल व्यवस्थापन तालिम प्रभावकारी हुने मिक्वाखोलाका अध्यक्ष कार्कीले बताउनुभयो । तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न पनि होटल व्यवसायी तथा होमस्टे सञ्चालकलाई अध्यक्ष कार्कीले आग्रह गर्नुभयो ।
आउँदो मंगलबारसम्म सञ्चालन हुने पाँच दिने तालिमको सहजीकरण प्रशिक्षक अभिषेक राईले गर्दै आउनुभएको छ । फुङ्फुङगे झरनासँगै सो क्षेत्रमा पर्ने तोक्पेगोला, लोदेन क्षेत्र लगायतका पर्यटकीय गन्तव्यको भ्रमण गर्ने पर्यटकहरु साँवाको तेम्बामा रहेका होटल तथा फुङ्फुङगे झरना सामुदायिक होमस्टेमा होटल र आवास सेवा लिने गर्दछन् ।

Similar Posts