आठराई त्रिबेणीमा आइतवार पनि कार्यालय सञ्चालन हुने
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २६ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले सातामा एकदिन मात्र बिदा दिने भएको छ ।
आर्थिक बर्ष समाप्त हुने समयमा दुईदिन बिदा दिँदा कार्यालयको कामकाज प्रभावित हुने देखिएको भन्दै पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले बिदाको समय साविक झैं कायम हुने जानकारी दिनुभयो । कार्यालय समय १० बजे देखि बेलुकी ५ बजेसम्म कायम रहने र सार्वजनिक बिदा बाहेक साविक झैं सातामा एक दिन शनिवार मात्र बिदा हुने उहाँले जनाउनु भएको छ ।
पालिकाले बिदाका दिन बाहेक अरु समय काम गरे कर्मचारीलाई अतिरिक्त समय काम गरेवापत प्रोत्साहन रकम दिएर काममा लगाउने पोमूको भनाई रहेको छ । पालिकाले यसअघि नै कर्मचारीलाई अतिरिक्त काममा लगाए वापत प्रोत्साहन रकम दिनेगरी कार्यविधि बनाई कार्यान्वयन गर्दै आइरहेको छ ।
नेपाल सरकारले कार्यालय समय बिहान ९ बजेदेखि ५ बजेसम्म कायम गर्दै सातामा दुईदिन शनिवार र आइतवार बिदा दिने निर्णय गरेको थियो । आठराई त्रिबेणीले भने आइतवार साविक झैं पालिका मातहतका सबै कार्यालय सञ्चालन हुने जनाएको छ ।