यस वर्षको दशैं तिहार किन ढिलो ?
काठमाडौ,असोज ७ । यसवर्ष दशैं र तिहारजस्ता पर्वहरु विगतका वर्षमा भन्दा झण्डै एक महिना ढिलो आउँदैछन् । आखिर किन यस्तो भयो होला ? यो जिज्ञासा नेपाली पर्वबारे सरोकार राख्ने जोकोहीमा हुन सक्छ । अरूबेला प्रायः असोज महिनामै सकिने दशैं यस वर्ष कात्तिक १ गते सुरु भएर कात्तिकको मध्यमा सकिन्छ । यस वर्षको घटस्थापना कात्तिक १ गते परेको छ भने फूलपाती कात्तिक ७ गते र विजयादशमी कात्तिक १० गते परेको छ । यसवर्ष तिहारको भाइटीका मंसिर २ गते पर्छ । अरू वर्ष प्रायः कात्तिकको मध्यतिरै सकिने छठ यस वर्ष मंसिरको पहिलो साता मात्र सकिन्छ । गत वर्ष फूलपाती असोज १८ गते परेको थियो भने विजयादशमी असोज २१ मै सकिएको थियो । त्यस्तै गत वर्ष भाइटीका कात्तिक १२ गते नै सकिएको थियो भने यस वर्ष मंसिर २ मा परेको छ । गत वर्ष छठ कात्तिक १६ गते नै सकिएको थियो । यस वर्ष मंसिर ६ गते छठ मनाउनुपर्ने भएको छ । झण्डै ३ वर्षमा एकपटक आउने अधिकमास यस वर्ष असोज २ गतेदेखि सुरु भएको छ । नित्य कर्मबाहेक अरू कुनै पनि धार्मिक कर्मका लागि अशुभ मानिने यो महिनालाई मलमास या पुरुषोत्तम महिनाको नामबाट चिन्ने गरिन्छ । यही मलमास या पुरुषोत्तम महिनाका कारण सोह्रश्राद्धपछिका सबै पर्वहरू एकएक महिना पछाडि सरेका हुन् ।
के हो अधिकमास ? कसरी गरिन्छ यसको तय ?
यसवर्ष चान्द्रमासअनुसार एकै वर्ष २ वटा आश्विन महिना परेका छन् । असोज १ गते औंसीको दिन सोह्रश्राद्ध सम्पन्न भएको छ भने त्यसको भोलिपल्टदेखि आश्विन शुक्ल प्रतिपदा सुरु भएको छ । सोही दिनदेखि चान्द्रमास अनुसार हुने कुनै पनि जात्रा पर्व मनाउने गरिँदैन । मलमास भएकाले यो महिनाभरि विवाह, व्रतबन्ध, पूजापाठ जस्ता कुनै पनि शुभकर्मको कुनै फल नरहेको जानकारहरू बताउँछन् ।
पृथ्वीले सूर्यलाई एकपटक घुम्नका लागि ३६५ दिन ६ घण्टा लगाउँछ । त्यस्तै, चन्द्रमाले पृथ्वीलाई घुम्नका लागि ३५४ दिन लगाउँछ । पृथ्वीले सूर्यलाई घुम्न लगाउने समयलाई सौरवर्ष मान्ने गरिन्छ भने चन्द्रमाले पृथ्वीलाई घुम्न लगाउने समयलाई चान्द्रवर्ष मान्ने गरिन्छ । यसरी सौरवर्ष र चान्द्रवर्षबीच एक वर्ष अर्थात् १२ महिनामा ११ दिन फरक हुन्छ । एक चान्द्रमास अन्तर्गत कृष्णपक्षको प्रतिपदादेखि चतुर्दशीसम्मको १४ दिन र शुक्लपक्ष अन्तर्गतको १४ दिनसँगैै औंसी र पूर्णिमा हुने गर्छ । एउटा अधिकमासको ३२ महिना १६ दिन ८ घडीपछि अर्काे अधिकमास आउने गर्छ । यही हिसाबले यस वर्षको अधिकमास असोज २ गतेदेखि सुरु भएको हो । मलमास अथवा अधिकमास भनेको सौरवर्ष र चान्द्रवर्षबीच हुने बेमेललाई मिलाउनका लागि छुट्याइएको महिना हो । असोज २ गतेदेखि मलमास सुरु हुने भएकाले त्यसपछि गरिने कुनै पनि शुभकार्यको फल नमिल्ने हुँदा यस वर्षको दशैं र तिहारलगायतका पर्वहरु एक महिना पछाडि धकेलिएका हुन् । नेपाल संस्कृत विश्वविद्यालयका ज्योतिषशास्त्रका प्राध्यापक जयन्त आचार्य असोज २ गतेदेखि आश्विन ३० गतेसम्म गरिएका शुभकर्मको फल नमिल्ने बताउँनुहुन्छ । यद्यपि नियमित हुने हवन लगायतका नित्यकर्मका लागि भने मलमासले कुनै बाधा नगर्ने आचार्य बताउँछन् । नित्यकर्म बाहेकका शुभकर्मका लागि भने यो महिना फलहीन हुने उहाँ बताउँनुहुन्छ ।
श्राद्धको तिथि कहिले ?
अधिकमासको समयमा मृत्युवरण गरेका पितृहरूको श्राद्धकर्म कुन महिनामा गर्ने भन्ने प्रश्नमा ज्योतिष विद्याका जानकारहरू सोही अधिकमासको जुन तिथिमा मृत्यु भएको छ, सोही महिनाको शुद्धमासमा त्यस्ता कर्म गरिने बताउँछन् । जस्तो– कोही व्यक्तिको मलमासको शुक्ल पक्षमा मृत्यु भएको छ भने अर्काे वर्ष शुद्ध आश्विन महिनाको शुक्ल पक्षमा नै वार्षिक तिथिकर्म गरिन्छ ।
के–के गर्नुहुँदैन मलमासमा ?
हिन्दूहरुको धार्मिक मान्यताअनुसार मलमासमा हिन्दू भक्तहरूले प्रायः उपवास, पूजा, ध्यान, भजनकीर्तन र चिन्तनजस्ता कर्मलाई आफ्नो जीवनशैलीका रूपमा अपनाउँछन् । पौराणिक मान्यताअनुसार ऋषिहरूले चान्द्रमासको महिना बनाउँदै लैजाँदा सौरमाससँग झण्डै तीन वर्षमा एक महिना नमिल्दो भयो, जसका कारण एउटा अधिकमास बनाउनुपर्ने भयो । त्यसको भार बोक्नका लागि देवताहरूलाई आग्रह गर्दा कोही पनि यसमा तयार भएनन् । तर, भगवान् विष्णु यसको भार बोक्न तयार भएकाले उनकै नामबाट यो महिनाको नाम पुरुषोत्तम महिना राखिएको हो । विष्णुले भार बोकेकाले अन्य शुभ कर्म नगरे पनि ध्यान, योग र भक्ति जस्ता कर्मको फल भने पाइने शास्त्रीय मत छ । पौराणिक सिद्धान्तअनुसार यस महिनाभरि दैनिक गरिने यज्ञ र हवनबाहेक श्रीमद्देवी भागवत, भागवत पुराण, विष्णु पुराण, भविष्य पुराण आदिको वाचन र श्रवण, धार्मिक पुस्तकहरू पढ्ने, ध्यान गर्ने आदि कर्म विशेष फलदायी मानिन्छन् । झण्डै १५ सय वर्ष पहिले बराह मिहिरका पालामा यसरी समस्या सुल्झाउने काम भएको उहाँ बताउँनुहुन्छ ।