मध्य चैत सम्ममा उठ्यो झण्डै साढे १२ करोड राजश्व

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १७ । चालु आर्थिक बर्ष २०८२।८३ को मध्य चैत सम्ममा ताप्लेजुङबाट झण्डै साढे १२ करोड राजश्व असुली भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका सूचना अधिकारी नवीन खनालका अनुसार ११ करोड १८ लाख ८५ हजार ५८६ रुपैयाँ तथा प्रदेशतर्फ १ करोड २० लाख ५४ हजार ६९१ रुपैयाँ राजश्व असुली भएको छ । संघतर्फ २१ वटा कार्यालय रहेकोमा सबैभन्दा बढी कोलेनिकाबाट ८ करोड ९६ लाख ७८ हजार २ सय ४४ रुपैयाँ राजश्वमा जम्मा भएको छ । मध्य चैतसम्ममा जिल्ला सरकारी वकिल कार्यालय,कारागार कार्यालय,सीमा प्रशासन कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयबाट कुनैपनि राजश्व रकम दाखिला नभएको कोलेनिकाले जनाएको छ । ओलाङचुङगोला भन्सार कार्यालयबाट १ रुपैयाँ राजश्व असुली भएको कोलेनिकाको अभिलेखमा देखिन्छ ।

संघका कार्यालयतर्फ जिल्ला प्रशासन कार्यालयबाट ९३ लाख ३६ हजार ७००,नापी कार्यालयबाट ३८ लाख ७१ हजार १०३,शिक्षा विकास तथा समन्वय इकाइबाट ३७ लाख ३७ हजार ६००,ताप्लेजुङ जिल्ला अदालतबाट १७ लाख ४८ हजार ६८२ र कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयबाट १६ लाख ४२ हजार ४७८ रुपैयाँ राजश्व जम्मा भएको छ । प्रदेशतर्फका १२ कार्यालयमध्ये जिल्ला अस्पताल र जिल्ला आर्युबेद स्वास्थ्य कार्यालयबाट चालु आवको मध्य चैतसम्ममा कुनैपनि राजश्व जम्मा नभएको कोलेनिकाको अभिलेखमा देखिएको छ ।

प्रदेश कार्यालयतर्फ सबैभन्दा बढी डिभिजन वन कार्यालयबाट १ करोड २ लाख ४३ हजार ८१६ रुपैयाँ राजश्व जम्मा भएको छ । प्रदेशतर्फका कार्यालयहरुमध्ये घरेलु तथा साना उद्योग कार्यालयले १३ लाख ३० हजार ८७५ रुपैयाँ,पूर्वाधार विकास कार्यालयले ४ लाख ३० हजार रुपैयाँ राजश्व रकम जम्मा गरेका छन् । अन्य कार्यालयले कम्तिमा १ हजार देखि बढीमा ४७ हजार रुपैयाँसम्म राजश्व असुली गरेको कोलेनिकाले जनाएको छ ।

Similar Posts