सामुदायिक बिद्यालयको कक्षा १–५ पाठ्यपुस्तक ताप्लेजुङ आइपुग्यो,बिक्री सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १६ । ताप्लेजुङ जिल्लाका कक्षा १–५ सम्मका सामुदायिक विद्यालयका बिद्यार्थीको पाठ्यपुस्तक सदरमुकाम फुङलिङ आईपुगेको छ ।

ताप्लेजुङका अधिकाँस सामुदायिक बिद्यालयको पाठ्यपुस्तक पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको जिल्ला समितिले संयुक्त रुपमा बिक्री गर्ने गरेको छ । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष केशवप्रसाद भट्टराईका अनुसार कक्षा १ देखि ५ सम्मको सबै बिषयको एकहजार सेट पाठ्यपुस्तक सदरमुकाम फुङलिङ आइपुगेको हो । पाठ्यपुस्तक बिक्री केन्द्रमा राखी सोमवारबाटै बिक्री बितरण सुरु गरिएको भट्टराईले बताउनुभयो । कक्षा ६–१० को पाठ्यपुस्तक पनि केहिदिन भित्रै आइपुग्ने उहाँले जानकारी दिनुभयो ।

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ ताप्लेजुङले चैत १५ भित्रमा पाठ्यपुस्तक सदरमुकाम फुङलिङ झारी सक्ने कार्ययोजना बनाएको थियो । कार्ययोजना अनुसार समयमै पाठ्यपुस्तक आएको भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुुसार कक्षा १ को पाठ्यपुस्तकको एक सेटको मूल्य ५२० रुपैयाँ ८० पैसा,कक्षा २ को ५५६ रुपैयाँ ८० पैसा,कक्षा ३ को ५८० रुपैयाँ ८० पैसा,कक्षा ४ को ६०२ रुपैयाँ ८० पैसा र कक्षा ५ को ६३३ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । करिव एकदशक अघिबाट यहाँका पुस्तक तथा स्टेशन व्यवसायीले सामुदायिक बिद्यालयको पाठ्यपुस्तक संयुक्त रुपमा बिक्री गर्दै आइरहेका छन् ।

Similar Posts