ओली र लेखकको रिहाईको माग गर्दै एमाले ताप्लेजुङद्धारा सरकारलाई ज्ञापनपत्र

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १५ । पक्राउ गरिएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकको अविलम्ब रिहाईको माग गर्दै नेकपा एमाले ताप्लेजुङले सरकारलाई ज्ञाापनपत्र बुझाएको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँमार्फत यस्तो ज्ञापनपत्र नेपाल सरकारलाई बुझाईएको नेकपा एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जानकारी दिनुभयो । ज्ञापनपत्रमा नवगठित सरकारले‘कथित कार्की आयोग’को प्रतिशोधात्मक र अपूर्ण प्रतिबेदनका आधारमा ओली र लेखक सहितका नेतालाई पक्राउ गरी मुलुकलाई द्धन्द र मुठभेडतर्फ धकेल्न खोजेको आरोप लगाईएको छ । ज्ञापनपत्रमा जेन जी आन्दोलनलाई योजनाबद्ध र संगठित रुपमा दुरुपयोग गरी असंबैधानिक बाटोबाट बनेको सुशिला कार्की नेतृत्वको सरकारद्धारा गठित कार्की आयोगको प्रतिबेदनका आधारमा नेताहरु माथि गरिएको धरपकड प्रतिशोध साँध्ने काम बाहेक अरु केहि नभएको दावी गरिएको छ ।

एमाले ताप्लेजुङले ओली र लेखक सहितका नेताहरुमाथि गरिएको दमन र धरपकडकोको निन्दा गर्दै अविलम्ब रिहाईको माग गरेको छ । एमाले ताप्लेजुङका पालिका कमिटीहरुले समेत ओली र लेखक सहितका नेताहरुको पक्राउको बिरोधमा विज्ञप्ति प्रकाशित गरी निन्दा गरेका छन् । एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष पोमूले आन्दोलनका थप कार्यक्रम र रणनीति तयार गर्न आन्तरिक छलफल सुरु गरिएको जानकारी दिनुभयो ।

Similar Posts