बलत्कार र हत्या घटना छानबिनको माग गर्दै प्रर्दशन
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २ । ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले सोमवार फुङलिङमा प्रर्दशन गर्दै इनिसा विक माथि भएको बलत्कार र हत्याका दोषीलाई पक्राउ गरी कानुनी दाहेरामा ल्याउन सरकारको ध्यानाकर्षण गरेका छन् ।
क्याम्पस सञ्चालक समितिका पदाधिकारी तथा सदस्य,स्वतन्त्र बिद्यार्थी युनियनका पदाधिकारी तथा सदस्य,विभिन्न बिद्यार्थी संगठनका अगुवा,अध्यापक तथा बिद्यार्थीहरुले नगर परिक्रमापछि वीरेन्द्र चौकमा आएर कोणसभा गरेका थिए । कोणसभालाई पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिला इजमले सम्बोधन गर्दै बलत्कार र हत्या प्रकरणको शीघ्र छानबिन र दोषी उपर कडा कारवाहीका लागि सरकारको ध्यानाकर्षण गर्नुभयो ।
तोक्मेडाँडा सुरु भएको प्रर्दशन फुङलिङको पुरानो बजार परिक्रमा पछि वीरेन्द्र चौकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभा पछि फेरि बिद्यार्थीहरुले बजारको माथिल्लो भागबाट प्रर्दशन गर्दै पुनःतोक्मेडाँडामा पुगेर प्रर्दशन टुङ्गाएका थिए । तोक्मेडाँडाको कोणसभालाई स्ववियु सभापति तिलबहादुर जोगी र सचिव लक्ष्मण पौडेलले संक्षिप्त सम्बोधन पछि प्रर्दशन सकिएको घोषणा गरिएको थियो ।