बाबु र आमा पछि संसदीय यात्रामा छोरा क्षितिज
उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २४ । पारिवारिक बिरासतको पदचाप पछ्याउँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनामका ३८ बर्षे युवा क्षितिज थेबे अब सांसदको जिम्मेवारीमा पुग्नु भएको छ ।
२०७४ मा बाहेक ७० को दशकदेखि थेबेको परिवारले निरन्तर संसदीय भूमिका पाइरहेको छ । २०७० सालको संविधानसभाको निर्वाचनमा त्यो बेला दुई निर्वाचन क्षेत्र रहेको ताप्लेजुङबाट क्षितिजका बुबा भूपेन्द्र संविधानसभा सदस्य हुनुभयो । संविधानसभा सदस्य हुनुभन्दा अघि भूपेन्द्र तत्कालिन गाविस अध्यक्ष र प्रधानपञ्चको भूमिकामा समेत रहनु भएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनामबाट वडाध्यक्ष बन्नु भएकी क्षितिजकी आमा उर्मिला नेम्बाङ थेबे २०७९ सालमा प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सांसद बन्नुभयो । त्यसको तीनबर्षपछि छोरा क्षितिजले ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जित्नुभयो । अब क्षितिजको जिम्मेवारी संसद सदस्यको रुपमा अघि बढेको छ । प्रतिनिधिसभा सदस्य २०८२ मा ताप्लेजुङबाट उम्मेदवारी दिनु भएका थेबे १३ राजनीतिक दलका १३ उम्मेदवारमध्ये सबैभन्दा कान्छा हुनुहुन्छ । सबैभन्दा कान्छा उमेरका उहाँलेनै निर्वाचनमा बाजी मार्नुभयो ।
जनप्रतिनिधिका रुपमा स्थापित हुन पहिलोपटक चुनावी मैदानमा रहनु भएका थेबेले पहिलो प्रयासमै बाजी मार्दा बाबु र आमा पछि उहाँको पारिवारिक बिरासतमा संसदीय यात्राले निरन्तरता पाएको छ । निर्वाचित भएको प्रमाणपत्र ग्रहण पछि क्षितिजले अब आफ्नो जिम्मेवारीलाई कामले प्रमाणित गर्ने दावी गर्नु भएको छ । उहाँले सम्पूर्ण मतदाताको आफुप्रतिको विश्वासलाई आफ्नो जिम्मेवारीको रुपमा ग्रहण गर्ने बताउनु भएको छ । यो परिवारको राजनीतिक बिरासत निकै लामो छ । क्षितिजका बुबा र आमा मात्र होईन,उहाँका बाजे(हजुरबुबा) र जिजुबाजे(हजुरबुबाका बुबा) समेत राजनीतिक पृष्ठभूमि र जनप्रतिनिधिको भूमिकामा हुनुहुन्थ्यो । क्षितिजका हजुरबुबा मनप्रसाद २०२४ देखि २०३२ सम्म तत्कालिन सिनाम गाउँ पञ्चायतको प्रधानपञ्च हुनुहुन्थ्यो । हजुरबुबाका बुबा भीमबहादुर २०१७ देखि २०२४ सालसम्म सिनाम गाउँ पञ्चायतको प्रधानपञ्चको जिम्मेवारीमा रहनुभयो । भूपेन्द्र २०४३ सालमा सिनाको प्रधानपञ्च बन्नुभयो । २०४९ र २०५४ को स्थानीय निकायको निर्वाचनबाट सिनाम गाविसको अध्यक्ष भएर काम गर्नुभयो ।
२०५४ को स्थानीय निकायको निर्वाचनमार्फत भूपेन्द्रका दाजु विजयराज तत्कालिन जिल्ला विकास समितिको सभापति हुनु भएको थियो । क्षितिज अहिले नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ दुईपटक एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्ष बन्नुभयो । निर्वाचनको प्रचारकै सम्मुखमा क्षितिजले आफ्नो जिम्मेवारी महाराज गुरुङलाई सुम्पिएर फेरि उहाँ निर्वाचन केन्द्रित अभियानमा फर्किनु भएको थियो । क्षितिजका बुबा भूपेन्द्र नेकपा एमाले ताप्लेजुङको जिल्ला कमिटी अध्यक्ष समेत हुनुभयो । आमा उर्मिला एमालेकी निवर्तमान केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्रको रुपमा चर्चा गरिएका क्षितिजलाई टिकट दिएर उपमहासचिव योगेशकुमार भट्टराईलाई पन्छाएको आरोप समेत एमालेले खेप्यो । तर,उपमहासचिव भट्टराईले क्षितिजको मनोनयन दर्ता देखि चुनावी प्रचारसभामा आफैं उपस्थित भएर एमाले कार्यकर्ताको उत्साह मात्र बढाइदिनु भएन,उहाँले क्षितिजलाई पार्टीबाट सर्वसम्मत रुपमा उम्मेदवार बनाएको बताएर टिकट बितरणमा पार्टी अध्यक्षले काखापाखा गरेको आरोपलाई खारेज समेत गरिदिनुभयो ।‘ सिङ्गो पार्टी संगठनको खटाई,कार्यकर्ताको त्याग मतदाताहरुको विश्वास नै म प्रतिको भरोसा हो’क्षितिजले भन्नुभयो ।