ताप्लेजुङका दुई हिमाली बस्तिका मतदान केन्द्रमा शनिवारै टोली पुग्ने,दुईमा आइतवार साँझसम्म मात्र

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १६ । ताप्लेजुङका उत्तरी हिमाली क्षेत्रमा रहेका चार मध्ये दुई मतदान केन्द्रका कर्मचारी निर्वाचन सामग्री सहित शनिवारै सम्वन्धित केन्द्रमा पुग्ने भएका छन् । बाँकी दुई केन्द्रमध्ये घुन्साको टोली आइतवार मात्र त्यहाँ पुग्ने छ भने याङ्माको टोली आइतवार बेलुकी वा सोमवार बिहान सम्वन्धित केन्द्रमा पुग्ने छ ।

ग्याब्ला मतदान केन्द्रमा खटिएका मतदान अधिकृत तथा मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल गौतमका अनुसार घुन्सा र ग्याब्लाको मतदान टोली शनिवार ग्याब्लालाई आवास मुकाम ठानेर रहने छ । अम्जिलेसाबाट अघि बढीसकेको टोली शनिवार साँझसम्ममा ग्याब्ला पुग्ने कार्यक्रम रहेको गौतमले बताउनुभयो । उहाँका अनुसार ग्याब्लाको टोली त्यही रहने छ भने घुन्साको टोली आइतवार बिहान घुन्सातर्फ लाग्ने छ । उता ओलाङचुङगोला र याङ्मातर्फ लागेको टोली शनिवार साँझ ओलाङचुङगोला पुग्ने छ ।‘ट्याक्टर भेटेकोले ओलाङचुङगोला र याङ्मा जाने टोलीलाई थोरै राहत भयो’गौतमले भन्नुभयो । उहाँका अनुसार गोला र याङ्मा जाने टोलीमध्ये गोलाको टोली गोलामै बस्ने छ भने याङ्मा जाने टोली गोलाबाट आइतवार बिहान याङ्मातर्फ लाग्ने छ ।

ओलाङचुङगोलाका लागि सिरिजङ्गा गाउँपालिकाका प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बे,याङ्माका लागि नेपाल बैंकमा कार्यरत माधव खड्का र घुन्साका लागि पाथीभरा याङ्वरक गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक देवेन्द्र मेन्याङ्वो मतदान अधिकृतको रुपमा खटिनु भएको छ । भौगोलिक कठिनाई रहेको,अधिकाँस क्षेत्र पैदल दूरी पार गर्नुपर्ने अवस्थाको रहको र मौसमका आएको बदलीका कारण पानी र हिमपात समेतले असर गर्ने देखेपछि जिल्ला निर्वाचन समन्वय समितिले ओलाङचुङगोला,याङ्मा,ग्याब्ला र घुन्सामा खटिने मतदान अधिकृत,सहायक मतदान अधिकृत,सहायक कर्मचारी,सहयोगी कर्मचारी र सुरक्षा निकायको टोलीलाई शुक्रवार बिहानै फुङलिङबाट सम्वन्धित केन्द्रतर्फ खटाएको थियो । ति क्षेत्रका मतपेटिका भने हेलिकोप्टरबाट मतगणनास्थल फुङलिङ ल्याउने कार्ययोजना बनेको छ ।

Similar Posts