प्याब्सन आबद्ध बिद्यालहरुरुको खुल्ला लोक नृत्य प्रतियोगितामा लिटलबुद्ध प्रथम
उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ८ । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन)ताप्लेजुङले आयोजना गरेको अन्तर बिद्यालय स्तरीय खुल्ला लोक नृत्य प्रतियोगितामा लिटलबुद्ध बोर्डिङ स्कुल प्रथम भएको छ ।
जिल्लाभर रहेका प्याब्सन आवद्ध २६ बिद्यालयमध्ये प्रतिश्पर्धामा रहेका १० बिद्यालयमध्ये लिटलबुद्ध प्रथम हुँदा ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुल दोस्रो भयो । ताप्लेजुङ सिद्धार्थ एकेडेमी तेस्रो हुँदा तमोर ईङलिस बोर्डिङ स्कुल सान्त्वना भएको हो । प्रतियोगितामा कोपिला नेपाली,प्रिति थलङ र पेम्बा शेर्पा निर्णायक मण्डलमा रहनु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले बिद्यार्थीहरुको प्रतिभा प्रष्फुटन र सम्मानका लागि आयोजना हुने यस्ता कार्यक्रम फलदायी हुने विश्वास लिनुभयो । उहाँले शिक्षा क्षेत्र सप्रिए मुलुक सप्रिने र बिग्रिए मुलुक बिग्रने बताउँदै शिक्षा क्षेत्रको उन्नयनका लागि संस्थागत बिद्यालयहरुको भूमिका अहम् रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले संस्थागत र सामुदायिक बिद्यालय मिलेर मुलुकको शिक्षा क्षेत्रलाई आमुल परिवर्तनको मार्गमा लैजान सकिने बताउनुभयो । शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले प्याब्सनले आफ्ना बिद्यार्थीहरुको अतिरिक्त क्षमताको पहिचान र विकासका लागि आयोजना गर्ने गरेका यस्ता कार्यक्रमले बिद्यालय तथा बिद्यार्थीको सर्वाङ्गिण विकासमा योगदान दिने बताउनुभयो । प्याब्सनका केन्द्रीय सदस्य दिनेश भट्टराईले प्याब्सनले आफ्नो बार्षिक कार्यतालिका अनुसार बिद्यार्थीहरुको प्रतिभा पहिचान र प्रतिभा सम्मानका लागि हरेक समयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनुभयो । जिल्ला प्याब्सनका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार इन्द्रकुमार गुरुङले ताप्लेजुङको शैक्षिक जनशक्ति उत्पादनमा संस्थागत बिद्यालयको भूमिका कम महत्वको नरहेको बताउँदै संस्थागत बिद्यालयहरु सामुदायिक बिद्यालय सहितका सबै सरोकारवालासंग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
प्याब्सन कोशी प्रदेशका पूर्व पदाधिकारी तथा पूर्व जिल्ला अध्यक्ष दिनेश प्रसाँईले संस्थागत बिद्यालयहरुले तयार पारेको कार्यतालिका अनुसार प्याब्सनमा आवद्ध बिद्यालयहरुले व्यवस्थापकीय जिम्मेवारी लिएर अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनुभयो । पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले बिद्यार्थीहरुलाई पाठ्य सामग्रीमा मात्र केन्द्रित नगरी उनीहरुको क्षमता र प्रतिभालाई समेत पस्कने गरी बनाईएका कार्यतालिका र सञ्चालन भएका क्रियाकलाप अझ रोचक पक्ष भएको बताउनुभयो ।
कार्यक्रमको व्यवस्थापक रहेको लिटलबुद्ध बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीले मौलिक लोक परम्पराको संरक्षण र जर्गेनाका लागि यसपटक लोक नृत्य कार्यक्रम आयोजना गरिएको बताउनुभयो । जिल्ला प्याब्सन ताप्लेजुङका अध्यक्ष देवराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन ताप्लेजुङका तत्कालिन अध्यक्ष गणेश सिग्देलको निधनप्रति दुःख व्यक्त तथा उपचारार्थ अस्पतालमा रहनु भएका प्याब्सन ताप्लेजुङका संस्थापक अध्यक्ष काजीमान पालुङ्वाको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।