|

करिव ६ महिना पछि सुकेटारमा बस्यो सीता एअरको बिमान

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ५ । ताप्लेजुङको सुकेटार बिमानस्थलमा सोमवारबाट उडान सुरु भएको छ । सुकेटार बिमानस्थलमा ६ महिनापछि सोमवार सीता एअरले पहिलो उडान भरेको हो । गत चैत ११ गतेबाट रोकिएको उडान पछि सुकेटारमा पहिलो पटक काठमाडौ–ताप्लेजुङ–काठमाडौ उडान भएको नागरिक उड्ययन प्राधिकरण सुकेटार स्टेशन प्रमुख सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । बिमानस्थल क्षेत्रमा व्यक्तिगत सुरक्षाका सबै उपाय अवलम्वन गरिएको छ । यात्रुको प्रारम्भिक स्वास्थ्य जाँच देखि बिमानलाइ ‘डिस्ईन्फेक्सन’समेत गरेर मात्र यात्रुलाई जहाज प्रबेशको अनुमति दिइने छ । यात्रु प्रतिक्षालय र टिकट जाँच केन्द्रमा समेत भौतिक दुरी मापन हुने रेखाङ्कन गरिएका छन् । मास्क,स्यानीटाईजर र ग्लोब्स अनिवार्य गरिएको छ भने निर्धारित भौतिक दुरी अनुसार मात्र यात्रु रहन पाउने छन् । जहाज चढ्ने र ओर्लने केन्द्रमा समेत भौतिक दुरी कायम गर्न रेखाङ्कन गरिएको छ । यात्रुको स्वास्थ्य जाँचका लागि बिमानस्थल क्षेत्रमा हेल्थ डेस्क पुर्नस्थापना गरिएको छ । लक डाउन अघि नियमित उडानका बखत त्यहाँ फुङ्लिङ नगरपालिकाको समन्वयमा हेल्थ डेस्क स्थापना गरिएको थियो ।

सीता एअरले सोमवार र शुक्रवार उडान भर्नेगरी तालिका तय गरेको छ । सोमवार सीता एअरले काठमाडौबाट ६ जना यात्रु बोकेर सुकेटार आई पुगेको थियो भने काठमाडौ फर्कदा ७ जना यात्रु लिएर गएको सीता एअरका ताप्लेजुङ सम्पर्क व्यक्ति श्रीप्रसाद खड्काले जानकारी दिनुभयो । यसैबीच नेपाल वायु सेवा निगमले पनि ताप्लेजुङका लागि सातामा २ दिन उडान हुने गरी तालिका सार्वजनिक गरेको छ । निगमले सुकेटारमा प्रत्येक साताको शनिवार र बुधवार उडान भर्ने छ ।

निगमले सार्वजनिक गरेको तालिका अनुसार आइतवार र बिहीबार काठमाडौ–रुकुम–काठमाडौ तथा रुकुम–नेपालगञ्ज–रुकुम,प्रत्येक आइतवार नेपालगञ्ज–जुम्ला–नेपालगञ्ज,प्रत्येक सोमवार,मंगलवार र शुक्रवार तीनदिन काठमाडौ–भोजपुर–काठमाडौको उडान तालिका तय गरेको छ । यस्तै प्रत्येक सोमवार,बुधवार र शुक्रवार काठमाडौ–दाङ–काठमाडौ,प्रत्येक आइतवार र मंगलवार काठमाडौ–फाप्लु–काठमाडौ,प्रत्येक बुधवार काठमाडौ–थामखर्क–काठमाडौ,प्रत्येक बिहीबार नेपालगञ्ज–बाजुरा–नेपालगञ्ज र प्रत्येक बुधवार र शनिवार काठमाडौ–खानीडाँडा–काठमाडौ उडान हुने गरी तालिका सार्वजनिक नेपाल वायु सेवा निगमले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts