| |

प्रधानमन्त्री कार्कीद्वारा निर्वाचनका विषयमा परामर्श

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १ । प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतस्थित स्थानीय सुरक्षा प्रमुखसँग निर्वाचनबारे परामर्श गर्नभएको छ । शुक्रबार बिहान ताप्लेजुङ आउनुभएको प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको विषयमा परामर्श गर्नभएको हो ।
ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीस विकास श्रेष्ठसहित जिल्लाका सुरक्षा प्रमुखसँग प्रम कार्कीले निर्वाचनबारे परामर्श गनर््ुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको ताप्लेजुङ जिल्ला अदालतमा प्रधानमन्त्री कार्कीले परामर्श गर्दै चुनावी वातावरणबारे जानकारी लिनुभएको छ ।
दक्षिण पूर्वमा भारतको सिक्किम र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ताप्लेजुङमा रहेका अति संवेदनशील र संवेदनशील मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउन प्रम कार्कीले निर्देशन दिनुभएको छ । उहाँले संवेदनशीलसँगै सम्भावित हुलदंगा हुने मतदानस्थलका लागि सुरक्षा व्यवस्था मिलाउनसमेत निर्देशन दिनुभएको छ ।
परामर्श कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जिल्लाको सुरक्षा स्थिति, मतदानस्थल र केन्द्रसहित निर्वाचन वातावरणबारे प्रधानमन्त्री कार्कीसमक्ष अवगत गराउनुभएको बुझिएको छ । कार्यक्रममा जिल्लास्थित दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजंघाका गुल्मपछि सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकलगायत सहभागी हुनुभएको थियो ।
यता प्रधानमन्त्री कार्कीले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनसमेत गर्नुभएको छ । बिहान ८ बजे ताप्लेजुङ आइपुग्नुभएका प्रधानमन्त्री कार्कीले सुरुमा पाथीभरा दर्शन गर्नुभएको र त्यसपछि सदरमकाम फुङ्लिङमा मुख्य निर्वाचन अधिकृतसहित सुरक्षा निकायका प्रमुखसँग परामर्श तथा छलफल गर्नुभएको हो ।
प्रतिनिधिसभा सदस्यका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा ८० वटा मतदानस्थल र १२७ वटा मतदान केन्द्र रहेका छन् । जिल्लाका ८० मतदानस्थलमध्ये २८ वटा अति सम्वेदनशील सूचीमा रहेको छ । त्यस्तै जिल्ला सुरक्षा समितिले बाँकी २५ वटा सम्वेदनशील र २७ मतदानस्थल सामान्य सूचीमा वर्गीकरण गरेको छ । ताप्लेजुङको मतदाता सङ्ख्या भने ९० हजार ३२७ रहेको छ ।

Similar Posts