राष्ट्रपति रनिङ शिल्डका स्वर्ण पदक बिजेतालाई सिरिजङ्गाले दियो जनही १५ हजार

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २७ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका स्वर्ण पदक विजेतालाई नगद सहित सम्मान गरेको छ ।

पालिकाले उत्कृष्ट प्रर्दशन गर्ने खेलाडी,प्रशिक्षक र खेल शिक्षकलाई मायाको चिनो सहित सम्मान गरेको छ । पालिकाका सूचना प्रविधि अधिकृत मनोज उप्रेतिका अनुसार एथलेटिक्सतर्फ तीनहजार मिटर दौडमा स्वर्ण पदक प्राप्त गर्ने १२ बर्षिय सुस्मिता राई र लङजम्पमा स्वर्ण पदक विजेता सुस्मिता गुरुङलाई जनही नगद १५ हजार रुपैयाँ सहित सम्मान गरिएको छ । आर्थिक अवस्था कमजोर रहेकी र पढ्नका लागि करिव २ घण्टा टाढाको बाटो पार गरेर आउनु–जानुपर्ने बाध्यता रहेकी १२ बर्षिय राईलाई सिदिङ्वा गाउँपालिकाका स्थानीय प्रकाश राई(कैलास)को नेतृत्वमा संकलित १५ हजार ५० रुपैयाँ सोमवार सिदिङ्वामै हस्तान्तरण गरिएको थियो । पालिकाले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडी, प्रशिक्षक र खेल शिक्षकलाई मायाको चिनो सहित सम्मान गरेको छ । पालिकाको शिक्षा शाखाका प्रमुख डिल्लीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पालिका अध्यक्ष लालकृष्ण चौहान,उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बू सहितको उपस्थिति रहेको थियो ।

यता पाथीभरा याङवरक गाउँपालिकाले पनि पदकधारी तथा सहभागी खेलाडीहरुलाई सम्मान गर्दै आगामी दिनमा थप सफलताको शुभकामना दिएको छ । पाथीभरा याङवरक १७ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजक पनि हो । अर्को बर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पाथीभरा याङवरकमा हुँदै छ । माघ २३ देखि २६ सम्म जिल्ला खेलकुद विकास समितिको आयोजना तथा सिदिङ्वा गाउँपालिकाको संयोजक(प्रायोजन)मा भएको १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको थियो । विभिन्न ५५ वटा पदक जित्दै मैवाखोला गाउँपालिका प्रथम भएको हो । मैवाखोलाले जितेको विभिन्न खेल विधाका ५५ पदकमध्ये २३ वटा स्वर्ण पदक रहेको छ । बाँकी २० वटा रजत र १२ वटा कास्य पदक रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू (गणेश)ले जानकारी दिनुभयो । १३ स्वर्ण पदक, १३ रजत र २१ कास्य गरी कुल ४७ वटा पदक जित्दै आठराई त्रिवेणी गाउँपालिका दोस्रो भएको छ ।

फुङलिङ नगरपालिकाले विभिन्न ४२ वटा पदक जितेर तेस्रो भएको छ । कुल पदकमध्ये फुङलिङ ११ वटा स्वर्ण, आठ रजत र २३ वटा कास्य जितेको छ । त्यस्तै, नौ स्वर्ण, १२ रजत र १६ कास्यसहित ३७ वटा पदक जित्दै सिदिङ्वा गाउँपालिका चौथो बन्न सफल भएको छ । चार स्वर्ण, पाँच रजत र छ कास्य गरी १५ वटा पदक जितेर मेरिङ्देन गाउँपालिका पाँचौं भएको छ । मिक्वाखोला गाउँपालिका तीन स्वर्ण, पाँच रजत र १७ वटा कास्य पदकमा जित निकाल्दै छैटौं बनेको छ । यसैगरी, दुई स्वर्ण, एक रजत र पाँच कास्यसहित आठवटा पदक जित्दै सिरिजङ्घा गाउँपालिका सातौं भएको छ । पाथीभरा याङ्वरक गाउँपालिका एक स्वर्ण,दुई रजत र दुई कास्य पदकसहित आठौं हुँदा पदकबिहीन बन्दै फक्ताङ्लुङ गाउँपालिका अन्तिम अर्थान नवौं भएको छ । प्रतियोगितामा फक्ताङ्लुङले कुनै पनि पदक जित्न नसकेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

Similar Posts