नेपाली बैंक र कम्पनीमार्फत ३४ अर्ब बढीको शंकास्पद कारोबार !
शिव गाउँले, कृष्ण आचार्य, रामु सापकोटा (खोज पत्रकारिता केन्द्र)
काठमाडौ,असोज ५ । गैरकानूनीरूपमा आर्जन गरेको शंकास्पद धन ओसार(पसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले यो खुलासा गरेको हो । यो खुलासा ‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएका कारोबारको हो । यस अवधिमा बैंकहरूले आफ्ना ग्राहकको शंकास्पद आर्थिक गतिविधि बारे निगरानी गरी ‘फिनसेन’ लाई जानकारी दिएका थिए । ती जानकारीहरू प्राप्त गरी ‘बजफिडन्यूज‘ र आईसीआईजेले विश्वभरिका आफ्नो नेटवर्कमा रहेका पत्रकारहरूसँगको सहकार्यमा गरेको खोजलाई ‘फिनसेन फाइल्स’ नाम दिइएको हो । ‘फिनसेन फाइल्स’ का अनुसार, सन् २००६ को डिसेम्बरदेखि २०१७ को मार्च महिनासम्म ११ वर्षभित्र नेपालका ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसार(पसार गरेको खुलेको छ । सुन, अलकत्रा, पुरातात्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएका देखिन्छन् । शंकास्पद धनको कारोबार र ओसार(पसार गरेको भन्ने ‘फिनसेन फाइल्स’ को सूचीमा स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, मेगा बैंक, हिमालयन बैंक, कास्कीको एपेक्स डेभलपमेन्ट बैंक र नेपाल बाङ्लादेश बैंकको नाम उल्लेख छ । यसैगरी ‘फिनसेन फाइल्स’ अनुसार, यस्तो कारोबार र ओसार पसारमा प्रत्यक्ष संलग्न १० कम्पनीहरूमा रौनियार ब्रदर्स एण्ड कम्पनी, शुभ समृद्धि टे्रडर्स प्राइभेट लिमिटेड, सास्ता ट्रेडिङ कम्पनी, सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालि, एलडी इन्टरनेशनल प्रालि, फेल्ट एण्ड यार्न प्रालि, ओमन्स पेपर क्राफ्ट कम्पनी, नेपाल इन्भेष्टमेन्ट, एक्मी मनी ट्रान्सफर कम्पनी र सन्नी इन्टरप्राइजेज छन् । यीमध्ये केही कम्पनीहरूले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नै नगरी रकम ल्याउने र लैजाने काम गरेको समेत देखिन्छ । यसबाहेक पनि झन्डै एक दर्जन जति नेपाली कम्पनीहरू अप्रत्यक्ष रूपमा संलग्न छन् । तर, उनीहरूको संलग्नताबारे सोधिएको प्रश्नमा नेपालका बैंक तथा कम्पनीहरूले ‘उल्लिखित काममा आफूहरूको कुनै संलग्नता नरहेको’ भनेर शंकास्पद कारोबारलाई अस्वीकार गरेका छन् । खुलासाअनुसार ११ वर्षको अवधिमा यी बैंक र कम्पनीहरूबाट कुल २९ करोड २७ लाख ९६ हजार ३८७ अमेरिकी डलर (रु.३४ अर्ब ८४ करोड २७ लाख ७० हजार १०२) शंकास्पद धन कारोबार र ओसार पसार भएको छ । यो रकम आर्थिक वर्ष २०७७ । ७८ मा गण्डकी प्रदेश सरकारले संसदमा प्रस्तुत गरेको बजेट बराबर हो । आईसीआईजेबाट खोपकेले प्राप्त गरेका कागजातहरू विश्लेषण गर्दा नेपाल जोडिएर तीन प्रकृतिमा कारोबारहरू भएको देखिन्छ । पहिलो, यो अवधिमा नेपालबाट कति शंकास्पद रकम बाहिरियो र कति रकम भित्रियो भन्ने खुलासा हुन्छ । दोस्रो, नेपालसहित विश्वका विभिन्न मुलुकमा भएको एकमुष्ट शंकास्पद कारोबारको रकम फेला पर्छ । तर, त्यसमध्ये नेपाल जोडिएको यकिन अंक कति हो भन्ने खुल्दैन । तेस्रो, नेपाली नाम, थर, ठेगाना उल्लेख गरेका व्यक्ति तथा कम्पनीले विदेशमै शंकास्पद धन कारोबार र ओसारपसार गरेको देखिन्छ । यसमा नेपालका बैंक तथा वित्तीय संस्था र कम्पनीहरू प्रयोग भएको देखिँदैन । पहिलो प्रकृतिअनुसार नेपाल भित्रिएको र नेपालबाट बाहिरिएको कुल रकम १७ करोड ७६ लाख ६० हजार ७६५ अमेरिकी डलर (रु.२१ अर्ब १४ करोड १६ लाख ३१ हजार ५८) हुन आउँछ । यो रु.२१ अर्बमध्ये १० करोड ३० लाख ३९ हजार ८६७ अमेरिक डलर (रु.१२ अर्ब २६ करोड १७ लाख २४ हजार २६२) नेपालबाट बाहिरिएको छ । यसैगरी ७ करोड ४६ लाख २० हजार ८९७ अमेरिकी डलर (रु.८ अर्ब ८७ करोड ९८ लाख ८६ हजार ७९६) नेपाल भित्रिएको देखिन्छ । दोस्रो प्रकृतिको नेपालसहित विश्वका विभिन्न मुलुकमा भएको अवैध कारोबार र ओसारपसारको एकमुष्ट रकम भने ४ करोड ८२ लाख ५४ हजार ५७६ अमेरिकी डलर (रु.५ अर्ब ७४ करोड २२ लाख ९४ हजार ५८६.८४) देखिन्छ । ‘फिनसेन फाइल्स’ ले यो रकम नेपालसहित विभिन्न मुलुकमा कारोबार र ओसार(पसार भएको उल्लेख गरे पनि नेपालमार्फत ठ्याक्कै कति कारोबार भयो भन्ने खुलाएको छैन । त्यसबाहेक तेस्रो प्रकृतिको कारोबारमा विदेशमा बसेर नेपाली मूलका व्यक्तिहरूले ६ करोड ६८ लाख ८१ हजार ४५.८६ अमेरिकी डलर (रु.७ अर्ब ९५ करोड ८८ लाख ४४ हजार ४७५) कारोबार र ओसारपसार गरेको पनि खुल्न आउँछ । ‘फिनसेन’ले यी तीनै थरी कारोबारलाई ‘सस्पिसियस एक्टिभिटिज रिपोर्ट’ शंकास्पद गतिविधि सम्बन्धी प्रतिवेदन (सार) को सूचीमा राखेको छ । ती विवरणहरू केलाउँदा नेपालका बैंकहरू ‘आफ्ना प्रत्येक ग्राहकले गर्ने कारोबारको निगरानी राख्नुपर्ने’ अनिवार्य दायित्वबाट चुकेको देखिन्छ । यसले सम्पत्ति शुद्धीकरणको अन्तर्राष्ट्रिय मूल्यांकनमा नेपाललाई ‘थप बदनाम’ र ‘उच्च जोखिमयुक्त मुलुकको सूचीमा पार्ने चुनौती’ थपेको छ । विभिन्न व्यापार, व्यवसाय र कारोबारका नाममा शंकास्पद रकम बाहिर लैजाने र भित्र्याउने काम पटक(पटक भएको देखिन्छ । यतिसम्म कि कला, संस्कृति र पुरातात्विक महत्वका वस्तुहरूको समेत तस्करी गरेर आर्जन गरिएको धनलाई बैंक प्रयोग गरेर शुद्धीकरण गर्ने प्रयास भएको खुलासा गर्छ ‘फिनसेन फाइल्स’ ले ।
‘स्ट्याण्डर्ड चार्टर्ड’ मार्फत अत्यधिक प्रवाह
‘फिनसेन फाइल्स’ मा उल्लेख भए अनुसार, सबैभन्दा बढी रकम ल्याउने र लैजाने शंकास्पद कारोबार र ओसारपसारमा नेपालको स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएको छ । त्यस्तो कारोबार गर्दा नेपालको स्ट्याण्डर्ड चार्टर्ड बैंकले विदेशस्थित स्ट्याण्डर्डकै शाखाहरू प्रयोग गरेको छ । कतिपय कारोबारमा अन्य बैंकहरूमार्फत पनि यस्तो काम भएको देखिन्छ । ग्राहक १, रौनियारः यो बैंकमार्फत सबैभन्दा धेरै शंकास्पद कारोबार गर्नेमा वीरगञ्ज उपमहानगरपालिका १२ मीनाबजार पर्सा, मेनरोडका दुई कम्पनीहरू छन् । एक, रौनियार ब्रदर्स एण्ड कम्पनी । दोस्रो, शुभ समृद्धि टे्रडर्स प्राइभेट लिमिटेड । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर स्रोतले उपलब्ध गराएको विवरण अनुसार, पहिलो कम्पनी वीरगञ्जका नारायण जी रौनियार र उनका चार छोराहरू( श्याम बाबु, ज्योति बाबु, प्रकाशकुमार र दीपकुमार बाबुको नाममा दर्ता छ । दोस्रो, कम्पनी भने नारायणजीका छोरा ज्योति बाबुका नाममा मात्रै दर्ता छ । शंकास्पद गतिविधि गर्ने प्रमुख व्यक्ति भने प्रकाशकुमार रौनियार हुन् । जो धेरैजसो दुबईमा बसोबास गर्छन् । उनको प्रमुख योजनामा दुबईकै ‘काइट इन्टरनेशनल’, ‘एफजेई’ र अन्य विभिन्न सिपिङ कम्पनीहरू (जहाजमार्फत सामान ओसारपसार गर्ने कम्पनी) मार्फत शंकास्पद कारोबार गरेको ‘फिनसेन’ ले उल्लेख गरेको छ । दुबईको ‘काइट इन्टरनेशनल‘ कम्पनीले अलकत्रा, सवारी साधनमा प्रयोग हुने मोबिल, लुब्रिकेन्ट लगायत तेल, रबर प्रोसेसिङ ओइल जस्ता पेट्रोलियम पदार्थको आयात र निर्यात गर्छ । ुबईका यी शंकास्पद कम्पनीहरू मार्फत रौनियार परिवारले नेपालमा अलकत्रा र पेट्रोलियम पदार्थको आयात निर्यातका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलेको छ । रौनियारका उल्लेखित दुई कम्पनीहरूले २८ सेप्टेम्बर २०१० देखि ४ सेप्टेम्बर २०१४ भित्र स्ट्यान्डर्ड चार्टर्ड बैंक काठमाडौंबाट पटकपटक प्रतीतपत्र खोलेका छन् । यी दुई कम्पनीले यो अवधिमा ७ करोड १४ लाख ५ हजार ५३३ अमेरिकी डलर (रु.८ अर्ब ४९ करोड ७२ लाख ५८ हजार ४२७) रकम दुबईलगायत विभिन्न देशमा भुक्तानी गरेको देखिन्छ । फिनसेनले यी कम्पनीहरूबारे संवेदनशील तथ्यहरू औंल्याएको छ । रौनियारको कम्पनीले अमेरिकाद्वारा व्यापारमा प्रतिबन्ध लगाएका मुलुकबाट सामान ल्याएको । तर, कागजात भने प्रतिबन्ध नलगाइएकै मुलुकहरूबाट सामान ल्याएको देखिने गरी तयार गरेको छ । ‘फिनसेन’ ले यसलाई शंकास्पद गतिविधि सम्बन्धी रिपोर्ट (सार) को सूचीमा राखेको छ । त्यसको उदाहरण २८ सेप्टेम्बर २०१० र १७ जनवरी २०११ देखि १ फेब्रुअरी २०११ सम्म भएका कारोबारहरू हुन् । २८ सेप्टेम्बर २०१० मा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले दुबईस्थित काइट कम्पनीबाट २ लाख २५ हजार अमेरिकी डलर (रु.२ करोड ६७ लाख ७५ हजार) मूल्य बराबरको अलकत्रा खरीद गर्न प्रकाशकुमार रौनियारका नाममा प्रतितपत्र जारी गरेको थियो । उक्त ‘अर्डर’ अनुसारका सामानहरू २८ सेप्टेम्बर २०१० मा ‘एमएससी जमाइमा’ र ‘एमएससी पेगी’ पानीजहाज कम्पनीमार्फत जिबुउटी र बहराइन पु¥याइएको थियो । जुन सामग्री ‘फर्नेस ओइल’ रहेको विवरणमा उल्लेख छ । त्यहाँबाट कोलकाता हुँदै वीरगञ्जको सिर्सिया बन्दरगाह ल्याइएको कागजातहरूले देखाउँछन् । यी कागजातका आधारमा १७ जनवरी २०११ देखि १ फेब्रुअरी २०११ सम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले २ लाख ४३ हजार ५५४.६३ अमेरिकी डलर (रु.२ करोड ८९ लाख ८३ हजार) काइटलाई भुक्तानी गरेको थियो । यो कम्पनीहरूका प्रतितपत्रहरूमाथि २०१६ अक्टोबरमा बेलायतको गैरनाफामूलक संस्था इन्टरनेशनल म्यारिटाइम ब्यूरो (आईबीएम) ले अनुसन्धान गरेको थियो । उक्त संस्थाले अन्तर्राष्ट्रिय व्यापारका क्रममा हुने सबै प्रकारका सामुन्द्रिक अपराध, ठगी र गलत अभ्यासबारे खोज्ने काम गर्छ ।उसको अनुसन्धानबाट नेपालका कम्पनीहरूले चार पटक ‘इरानको बन्दरगाह बान्डर अब्बासबाट सामान लोड गरिएको’ फेला पा¥यो । तर, कागजपत्र चाहिँ ‘दुबईको जेबिल अली बन्दरगाहमार्फत सामान लोड भएको’ भन्ने बनाइएको थियो । यस आधारमा ‘फिनसेन’ ले यसलाई शंकास्पद कारोबारको सूचीमा राखेको हो । ‘काइट’ को वेबसाइटमा उल्लेख भए अनुसार, यो एक कम्पनीहरूको समूह (ग्रुप अफ कम्पनिज्) हो, जसको केन्या, जाम्बिया, मोजाम्बिक, नेपाल र अमेरिकामा उपस्थिति रहेको छ । काइटको वेबसाइटमा भएको विवरण अनुसार, यो कम्पनीले ‘नेपालमा उच्च शिक्षाका लागि नयाँ परियोजना शुरू गरेको’ छ । तर नेपालका सरकारी अधिकारीहरू ‘काइट’ ले शिक्षा क्षेत्रमा कुनै परियोजना सञ्चालन नगरेको बताउँछन् । यी काम कारबाहीबारे प्रतिक्रिया लिन हामीले दुबईस्थित काइटको कार्यालयलाई इमेल मार्फत प्रतिक्रिया लिन खोजेका थियौं । तर, उसबाट कुनै प्रतिक्रिया प्राप्त भएन ।