आठराई त्रिबेणी अब आफ्नै नवनिर्मित प्रशासकीय भवनमा,सामुदायिक भवन समेतको उद्घाटन
खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ९ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शुक्रवारबाट आफ्नै नवनिर्मित भवनबाट सेवा आरम्भ गरेको छ ।
गाउँपालिकाले शुक्रवार नवनिर्मित प्रमुख प्रशासकीय भवन तथा सामुदायिक भवनको एकसाथ उद्घाटन गर्दै सेवा आरम्भ गरेको हो । पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले दुबै भवनको उद्घाटन गर्दै सेवा आरम्भ भएको जनाउनु भएको छ् । पोमूले पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,पाथीभरा याङवरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ,आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ राई,पालिकाका पूर्व अध्यक्ष विश्वनाथ सिटौला र पूर्व उपाध्यक्ष मञ्जु पौडेल भट्टराई सहितको उपस्थितिमा भवनको उद्घाटन गर्नुभयो । प्रमुख प्रशासकीय भवन,अध्यक्ष–उपाध्यक्ष आवास कक्ष,कर्मचारी आवास कक्ष र सामुदायिक भवन निर्माण कार्य पूरा भएको र विद्युतीय तारबार सहितका केहि संरचना पूरा हुन बाँकी रहेकोले केहि समय पछि उद्घाटन गरी सेवा सुरु गरिने पालिकाले जनाएको छ ।
करोड ५३ लाख रुपैयाँ बजेट रहेको पालिकाको प्रमुख प्रशासकीय भवनका लागि २०७९।८० बाट प्रकृया आरम्भ भएको थियो । भलिबल,ब्याडमिन्टन सहितका खेलहरु समेत खेल्न मिल्ने प्रकृतिको सामुदायिक भवन ८० लाख रुपैयाँको लागतमा निर्माण कार्य पूरा भएको पालिकाले जानकारी दिएको छ । आठराई त्रिबेणीले समेत आफ्नै प्रशासकीय भवनबाट सेवा दिन दिन थालेपछि ताप्लेजुङका ५ स्थानीय तहले आफ्नै नयाँ प्रशासकीय भवन पाएका छन् । सिरिजङ्गा गाउँपालिका,फुङलिङ नगरपालिका,मेरिङदेन गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकाले यसपहिलेबाट नै आफ्नै प्रमुख प्रशासकीय भवनबाट सेवा दिइरहेका छन् ।
मैवाखोला,मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणाधिन अवस्थामा छन् । सिदिङ्वा गाउँपालिकाले भने भर्खर मात्र प्रकृया सुरु गरेको छ । बसन्त पञ्चमीको अवसर पारेर शुभ साइतका साथ प्रमुख प्रशासकीय र सामुदायिक भवनको उद्घाटन गरिएको पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो ।