प्रशासनद्धारा पाथीभरा याङवरकमा शान्ति सुरक्षासहितका बिषयमा सरोकारवालासंग छलफल
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २९ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सोमवार पाथीभरा याङवरक गाउँपालिकामा शान्ति सुरक्षा,अपराध नियन्त्रण र सेवा प्रवाहका बारेमा छलफल गरेको छ ।
पालिका अध्यक्ष केशरकुमार सुब्बा र उपाध्यक्ष रनमाया गुरुङसहित वडाध्यक्ष,वडा सचिव र सरोकारवालाको उपस्थितिमा लागु औषध नियन्त्रण देखि विपद् व्यवस्थापन सहितका बिषयमा छलफल गरेको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले तीन तहका सरकारी तथा सार्वजनिक निकायले प्रदान गर्ने सेवाको चुस्तता र समन्वय,नागरिकता सहितका पञ्जीकरणका कार्यहरुको सहजता,सुद्रिढ शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा सामुहिक सहकार्य सहितका बिषयमा छलफल भएको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नागरिक सुनुवाई कार्यक्रम समेत सम्पन्न गरेको छ । प्रजिअ सेढाइँ र जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले नागरिकले प्रहरी र प्रशासनसंग सम्वन्धित बिषयमा मागेको राय,राखेको गुनासो र सुझाव ग्रहण गर्नु भएको थियो ।