सिरिजङ्गाका ११ बिद्यालयका कक्षा ५ सम्म अध्ययनरत बिद्यार्थीलाई न्यानो कपडा बितरण सुरु
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २३ । चाइना फाउण्डेसन रुरल डेभलपमेन्टको आर्थिक सहयोग तथा न्यू लाइट फाउण्डेसनको सहजीकरणमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका ११ वटा बिद्यालयका कक्षा ५ सम्म अध्यनरत बिद्यार्थीलाई न्यानो कपडा बितरण गर्न थालिएको छ ।
बुधवार तेल्लोक माविका बिद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेले जानकारी दिनुभयो । सिरिजङ्गा गाउँपालिकाले आफ्नो आधिकारिक फेसबुकपेजमा सिरिजङ्गा गाउँपालिका र प्रतिनिधिसभाका सदस्यहरुको पहलमा उक्त न्यानो कपडा बितरणका लागि वातावरण बनेको जनाएको छ । सिरिजङ्गा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानका अनुसार वाल कक्षा देखि कक्षा ५ सम्मका बिद्यार्थीले उक्त न्यानो कपडा पाउने छन् । पालिका भरीका सबै बिद्यालयहरुका बिद्यार्थीलाई न्यानो कपडा बितरणको जिम्मेवारी लिइदिन आग्रह गरेपनि पहिलो चरणमा ११ बिद्यालयका बिद्यार्थीलाई उक्त सुविधा प्रदान भएको चौहानले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी रहेका बिद्यालयका बिद्यार्थीले अर्कोबर्ष यस्तो सुविधा पाउने छन् ।
पालिका अध्यक्ष चौहानका अनुसार आम्बेगुदिन माध्यमिक बिद्यालयका ८१ जना,गणेश माध्यमिक बिद्यालय खेवाङका ७४ जना,कञ्चनजंघा माध्यमिक बिद्यालय याम्फुदिनका ५९ जना,सरस्वती माध्यमिक बिद्यालय सिकैचाका ६७ जना,भगवती आधारभूत बिद्यालय आम्बगुदिनका १ सय २७ जना र पञ्चकन्या आधारभूत बिद्यालय खेवाङका ५० जनाले न्यानो कपडा पाउनेछन् । यस्तै फुन्द्रुवा आधारभूत बिद्यालय तेल्लोकका ५८ जना,राष्टिङ मावि पेदाङका ५० जना,सिनाम मावि सिनामका २ सय १० जना,तेल्लोक माविका ८९ जना र याङपाङ आधारभूत बिद्यालयका ४६ जनाले न्यानो कपडा पाउने सिरिजङ्गा गाउँपालिकाले जनाएको छ । न्यानो कपडा बितरण कार्यक्रममन चाइना फाउण्डेसन रुरल डेभलपमेन्ट र न्यू लाइट फाउण्डेसनका प्रतिनिधिहरुको समेत सहभागिता रहेको सिरिजङ्गा गाउँपालिकाले जनाएको छ ।