पछिल्लो समय ताप्लेजुङमा अपाङ्गताको संख्या २,३६९,हेमोफेलियाका अपाङ्गता भने शुन्य

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २० । ताप्लेजुङमा २ हजार ३ सय ६९ जना अपाङ्गता भएका व्यक्ति रहेको अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमले बताएको छ ।

करुणा फाउण्डेसन,कोशी प्रदेश सरकार र जिल्लाका स्थानीय तहसंगको समन्वयमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको जिल्ला स्तरीय समिक्षा कार्यक्रममा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमका बरिष्ठ व्यवस्थापक कमल कोईरालाका अनुसार मृत्यु भएका,बसाँई सरी गएका र अपाङ्गताको अवस्था समाधान भएका कारण अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रममा समावेश नभएका संख्या समेत घटाएर २ हजार ३ सय ६९ जना अपाङ्गता भएका व्यक्ति कायम भएका छन् । कोईरालाका अनुसार अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रममा २ हजार ५ सय ३० जना व्यक्ति अपाङ्गताको सूचीमा समावेश भएका थिए । उक्त संख्यामध्ये ८२ जनाको मृत्यु भइसकेको छ भने ४० जना बसाँई सरी अन्य गएका छन् । सुरुमा अपाङ्गताको शिकार भएकामध्ये ३९ जनाको अपाङ्गताको अवस्था समाधान भएको विवरण कोईरालाले प्रस्तुत गर्नु भएको छ ।

२०७८ सालको जनगणनाले यहाँ कुल २ हजार ९ सय ७८ जना व्यक्ति अपाङ्गता भएको तथ्याङ्क देखाएको थियो । राष्ट्रिय जनगणनाको विवरण भन्दा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमका क्रममा संकलन भएको संख्या भन्दा ४ सय ४८ ले भिन्नता भएको देखिएको छ । अपाङ्गता भएका व्यक्तिको सुरुको तथ्याङ्कका आधारमा हेर्दा सबैभन्दा बढी शारिरीक अपाङ्गता भएका व्यक्ति देखिएका छन् । यस्तो प्रकृतिका व्यक्ति १ हजार ३ सय ७९ जना हुँदा बहु अपाङ्गता भएका व्यक्ति २ सय ९६ जना देखिएका छन् । कोईरालाका अनुसार दृष्टी सम्वन्धी समस्याका २ सय ६८ जना,सुनाई सम्वन्धीका २ सय २७ जना,श्रवण दृष्टीविहिन ८ जना,मानसिक तथा मनोसामाजिक समस्याका १ सय ४२ जना,बौद्धिकका ६७ जना,अटिजमका २२ जना,पहिचान नखुलेका २४ जना व्यक्ति अपाङ्गताको शिकार भएका रहेका छन् ।

ताप्लेजुङमा हेमोफेलियाका कारण अपाङ्गता भएका व्यक्ति नरहेको समेत कोईरालाले प्रस्तुत गरेको विवरणमा उल्लेख गरिएको छ । हेमोफेलिया रक्तश्राव सम्वन्धी एक प्रकारको अपाङ्गता हो । १० प्रकारका अपाङ्गतामध्ये हेमोफेलियालाई समेत एक प्रकार मानिन्छ । विभिन्न प्रकारका क्लटिङ फ्याक्टरमध्ये, फ्याक्टर ८ र ९ को शरिरमा कमी भयो भने हामी त्यसलाई हेमोफेलिया भन्ने गरिएको छ ।

Similar Posts