नेकपाको पालिकास्तरीय एकता सन्देश सभा धमाधम
-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस १३ । नेपाली कम्युनिस्ट पार्टीले ताप्लेजुङमा पालिकास्तरीय एकता सन्देश सभा गरिरहेको छ । गत मङ्सिर अन्तिम साता जिल्लास्तरीय एकता सन्देश सभा सम्पन्न गरेको नेकपाले अहिले धमाधम पालिकास्तरीय सभा गरिरहेको छ ।
नेकपाले शनिबार एकैदिन जिल्लाको दुईवटा स्थानीय तहमा पालिकास्तरीय एकता सन्देश सभा सम्पन्न गरेको सो पार्टीले जनाएको छ । नेकपाका जिल्ला नेता विष्णुकमार लिम्बूका अनुसार शनिबार सिदिङ्वा र आठराई त्रिबेणी गाउँपालिकामा सन्देश सभा सम्पन्न भएको छ ।
सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र साब्लाखु भञ्ज्याङमा आयोजना गरिएको एकता सभामा हर्कबहादुर नेम्बाङ (मिक्सो), खेलप्रसाद बुडाक्षेत्री, विजयप्रकाश वनेम, नेत्र नेपालीलगायत नेकपाका नेताहरुको उपस्थिति रहेको थियो । त्यस्तै आठराई त्रिबेणीको हाङ्पाङमा पनि खेमबहादुर वनेम, पर्शुराम कार्की, विष्णुकुमार लिम्बू, निता सिवा लगायतका नेताहरुको उपस्थितिमा एकता सन्देश सभा सम्पन्न गरिएको सो पार्टीले जनाएको छ ।
नौ स्थानीय तह रहेको जिल्लामा यसअघि सिरिजङ्घा र मेरिङ्देन गाउँपालिकामा नेकपाले एकता सन्देश सभा आयोजना गरिसकेको छ । बाँकी रहेका पालिकामा क्रमशः सभाहरु आयोजना गरिने सो पार्टीले जनाएको छ । तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरुले पार्टी एकता गरेपछि देशव्यापी एकता सन्देश सभाहरु गरिँदै आएको छ ।