| |

फुरुम्बुमा विद्यार्थीलाई अल्लोको झोला वितरण

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस १४ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अल्लोको झोला वितरण गरिएको छ । वडाभित्र रहेका आठवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अल्लोको झोला वितरण गरिएको हो ।
फुरुम्बुका वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार आठ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत २४० जान विद्यार्थीलाई अल्लोको झोला वितरण गरिएको छ । नगरपालिकाबाट विनियोजित पाँच लाख रुपियाँ बजेटबाट झोला खरिद गरी विद्यार्थीलाई वितरण गरिएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
बालबालिका अर्थात कक्षा १–५ मा अध्ययनरत विद्यार्थीलाई पाठ्यपुस्तक बोक्नलाई सहज बनाई उनीहरुको पढाइमा सहयोग पु¥याउने उद्देश्यले झोला वितरण गरिएको वडाध्यक्ष लिम्बूको भनाइ छ । उहाँका अनुसार वडाभित्रै उत्पादन भएको अल्लो (भाङ्ग्रे सिस्नुको बोक्राबाट निर्मित कपडा) कपडाको झोला वितरण गरिएको छ ।
वडासचिव सचिन रेग्मीका अनुसार मयाम माध्यमिक विद्यालय, जनता आधारभूत विद्यालय, पाथीभरा आधारभूत विद्यालय, नाम्जेडाँडा चौतारा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएको छ । त्यस्तै जनकल्याण आधारभूत विद्यालय, महाकाली आधारभूत विद्यालय, गौरीशंकर आधारभूत विद्यालय र पाथीभरामाता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएको वडासचिव रेग्मीले जानकारी दिनुभयो ।
स्थानीय उत्पादनको कपडा अल्लोको प्रवर्धन र अल्लो कपडाबाट तयार हुने झोला सहितका सामग्रीको बजारीकरण गर्नमा टेवा पु¥याउने उद्देश्यले विद्यार्थीलाई अल्लोकै झोला वितरण गरिएको वडाध्यक्ष लिम्बूले बताउनुभयो । यसअघि वडाकै सहयोगमा स्थानीय १६ जना महिलाले संयुक्तरुपमा फुरुम्बु अल्लो प्रशोधन तथा कपडा उद्योग सञ्चालन गरेर अल्लो कपडा उत्पादन गरी विभिन्न सामग्रीहरु तयार गर्दै आइरहेका छन् । महिला उद्यमीलाई अल्लो प्रशोधन तथा कपडा निर्माणसम्बन्धी तालिम र प्राविधिक सहयोग भने घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ र हिमाली संरक्षण मञ्चले गरेका थिए ।
यता फुङ्लिङ नगरपालिकाकी उप्रमुख भीमादेवी ओझा, वडाध्यक्ष लिम्बू सहितका जनप्रतिनिधि र विद्यालयका पदाधिकारीले विद्यालय–विद्यालयमा पुगेर झोला वितरण गरिएको हो । आइतबार एकैदिन सातवटा विद्यालयका विद्यार्थीलाई अल्लोको झोला वितरण गरिएको छ भने बाँकी एउटा विद्यालयका विद्यार्थीलाई सोमबार (आज) झोला वितरण गर्ने तयारी गरिएको वडा कार्यालयले जनाएको छ ।

Similar Posts