ताप्लेजुङमा ढुंगाले लागेर मजदुरको मृत्यु
-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस ११ । ताप्लेजुङमा ढुंगाले लागेर शुक्रबार एक मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर–५ जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको माथिबाट झरको ढुंगाले लागेर मृत्यु भएको हो ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार ढुंगाले लागेर मृत्यु हुनेमा दैलेखको गुराँस गाउँपालिका–३ का २४ वर्षीय भद्रबहादुर शाही रहेका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको पिपलचौकस्थित तमोर–५ जलविद्युत आयोजनाको आटलेट सुरुङ निर्माणको काम गरिरहेको बेला माथिबाट झरेको ढुंगाले शाहीसहित अर्का एकजना मजदुरलाई लागेको थियो ।
उक्त ढुंगाले लागेर गम्भीर घाइते हुनुभएका शाहीलाई तत्काल उपचारका लागि तापेथोक आधारभूत अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । ढुंगाले लागेर मृत्यु हुनुभएका शाहीको शव जिल्ला अस्पताल ताप्लेजुङतर्फ पठाइएको प्रनाउ गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार अर्का घाइते मजदुर बर्दियाको मधुवन नगरपालिका–४ का ३३ वर्षीय आकाश खड्काको दाहिने खुट्टा भाँचिएको छ । घाइते खड्कालाई पनि तापेथोक आधारभूत अस्पतालमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल नै सिफारिस (रेफर) गरिएको प्रहरीले जनाएको छ । यता घटनाको स्थलगत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक आशिष पोखरेलको नेतृत्वमा प्रहरी टोली खटेको जनाइएको छ ।