नेकपा ताप्लेजुङद्धारा प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवारको सर्वसम्मत चयन,प्रत्यक्षमा पराग उम्मेदवार
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ११ । नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन तथा त्यसअघिको राष्ट्रियसभाको निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टीका नेता तथा मैवाखोला गाउँपालिका वडा नं १ का वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार प्रत्यक्षतर्फ तत्कालिन नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री(पराग)को नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ ।
बुढाक्षेत्री २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेस,नेकपा(माओवाद केन्द्र) र नेकपा एससहितको संयुक्त गठबन्धनबाट उम्मेदवार बन्नु भएको थियो । त्यतिबेला उहाँ नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईसंग २०८ मतको झिनो मतान्तरले पराजित हुनु भएको थियो ।
समानुपातिकतर्फ आरसी पोमू,दावाछिरिङ शेर्पा(बिशालु),असिम लिम्बू(जेन जी)र कल्पना तुम्बाहाम्फेको नाम सिफारिस गर्ने निर्णय भएको छ । राष्ट्रियसभा निर्वाचनका लागि पर्शुराम कार्की र नेत्र नेपालीको नाम सिफारिस गर्ने निर्णय भएको नेताहरुले बताएका छन् ।