कञ्चनजंघा सेसेलुङ महिला गोल्डकप : उपाधिका लागि फुङलिङ र मेरिङदेन भिड्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १८ । ताप्लेजुङको फुङलिङमा जारी अन्तरपालिका स्तरीय कञ्चनजंघा सेसेलुङ महिला गोल्डकपको उपाधिका लागि फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिका भिड्ने भएका छन् ।

बिहीबार भएको दोस्रो सेमीफाईनलमा पाथीभरा याङवरकलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै मेरिङदेनले फाइनलमा स्थान बनाएको हो । मेरिङदेनले शनिवार फुङलिङ नगरपालिकासंग उपाधि भिडन्त गर्ने छ । बुधवार भएको पहिलो सेमीफाइनलमा मैवाखोला गाउँपालिकालाई २–० ले हराउँदै फुङलिङ नगरपालिका फाइनल प्रवेश गरिसकेको छ । मेरिङदेनको जीतमा अनुष्का शेर्पाले ह्याट्रिक पूरा गर्दा सुष्मा लिम्बू र मनिता तामाङले १–१ गोल गर्नुभयो । अनुष्काले मेरिङदेनका लागि पहिलो,चौथो र पाँचौं गोल गर्नुभयो भने सुष्माले दोस्रो र मनिताले तेस्रो गोल गर्नुभयो ।

बिहीबारको खेलमा मेरिङदेनकी मनिता तामाङ प्लेयर अफ द म्याच हुनुभयो । प्रतियोगिताको बिजेताले २ लाख २ हजार ८२ र उपबिजेताले १ लाख २ हजार ८२ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । चासोक तङनाम(न्वागी खाने पर्व)को अवसरमा मंसिर १३ देखि भानुजन माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल शुक्रवार बिसाएर शनिवार गरिने चासोक तङनाम सञ्चालन समितिका अध्यक्ष चन्द्रकुमार थेबेले जानकारी दिनुभयो । शुक्रवार मिलन नेवार सहितका कलाकारको उपस्थितिमा वृहत्त साँस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजक समितिले जनाएको छ ।

Similar Posts