टिपताला नाका,भन्सार कार्यालय र सडक सहितका बिषयमा छलफल चलाउँदै ताप्लेजुङका जेन जी युवा

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ९ । नेपाल–तिब्बत सीमानाका टिपताला सहज सञ्चालन,भन्सार कार्यालय स्थापना र जिल्लाका समसामयिक बिषयमा ताप्लेजुङका जेन जीको अगुवाईमा छलफल हुने भएको छ ।

छलफल आउँदो शुक्रवार गर्नेगरी तयारी थालिएको जेन जी अगुवामध्ये एक सागर विकले जानकारी दिनुभयो । टिपताला सहज सञ्चालन लगायतका बिषयमा सहयोगका लागि जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति) र फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन लामा(वालुङ)संग आफुहरुले समन्वय गरिररहेको समेत विकले जानकारी दिनुभयो ।

यसअघि जेन जी अगुवाहरुले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँलाई टिपताला नाका सञ्चालन,तमोर करिडोर अन्तरगत टिपतालासम्म जोड्ने खण्डको कालोपत्रेसहितको स्तरोन्नती,ओलाङचुङगोलामा भन्सार कार्यालय स्थापना र तिब्बतमार्फत मित्रराष्ट्र चीनसंगको व्यपारिक सम्भावनाका बिषयमा ध्यानाकर्षण गराउँदै अग्रसरता लिईदिन आग्रह गरेका थिए ।

जेन जी युवाहरुले जिल्लाका समसामयिक र सापेक्ष समस्याबारे छलफल गरी समाधानका लागि सम्वन्धित पक्षलाई कसरी ध्यानाकर्षण गर्ने भन्ने बारेमा समेत छलफल गर्ने तयारी गरेका छन् । यसका लागि उनीहरुले सरोकारवालासंग नियमित समन्वय गर्ने कार्य गरिरहेको जनाएका छन् । मिति लगभग तय भएपनि स्थान भने तय भइनसकेको जेन जी अगुवाले जनाएका छन् । ताप्लेजुङमा गत असोज २८ गते जेन जी युवाहरुले गोपाल गुरागाँई संयोजक रहेको समिति बनाई संस्थागत अभियान चलाईरहेका छन् ।

 

Similar Posts