ताप्लेजुङको साँवाबाट धरान जाँदै थियो पाँचथरमा दुर्घटनाग्रस्त गाडी

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १८। पाँचथरको कुम्मायक गाउँपालिका वडा नं ३ कात्तिकेमा शनिवार दिउँसो दुर्घटनामा परेको सवारी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाबाट धरानतर्फ जाँदै गरेको खुलेको छ ।
ताप्लेजुङका जिल्ला प्रहरी प्रमुख डिएससी बेदप्रसाद गौतमले बिहान ७ ः३० बजे यहाँबाट धरानका लागि गाडी अघि बढेको जानकारी आएको बताउनुभयो । घटनास्थलमा रहेका स्थानीय निशान लिम्बूले सडकबाट करिव दुईदेखि अढाईसय मिटर मुनि सवारी अड्किएको अवस्थामा रहेको बताउनुभयो । केहि समय अघि सवारी तमोर नदीमै पुगेको बताईएको थियो । सवारीमा ११ जना रहेको अनुमान गरेपनि कतिपयले चालक बाहेक नै ११ जना रहेको र सवारी नम्बर मे १ ज ३०५५ रहेको बताएका छन् ।
घटनास्थलमा रहेका पाँचथरका सञ्चारकर्मीहरुले अहिलेसम्म ६ जनाको उद्धार गरी उपचारका लागि पठाएको बताएका छन् । ति मध्ये सिकिस्त अवस्थामा ५ जनालाई उपचारका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र एकजनालाई पाँचथरको फिदिम अस्पताल पठाईएको बताईएको छ ।