| |

सवा चार करोडको लगानीबाट भेनियर उद्योग सञ्चालन

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, भदौ २९ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा सवा चार करोड रुपियाँ बढी लगानी गरेर भेनियर उद्योग स्थापना गरिएको छ । सदरमुकाम फुङ्लिङ बजारका चारजना स्थानीय व्यवसायीको संयुक्त लगानीबाट बजार नजिकै दोखुको हिटीमा भेनियर उद्योग स्थापना गरिएको हो ।
ताप्लेजुङ प्लाई एण्ड भेनियर प्रालि नामक संस्था नै दर्ता गरेर उद्योग स्थापना गरिएको सञ्चालक सदस्य भरत श्रेष्ठले जानकारी दिनुभयो । उद्योग स्थापना गर्न जङ्ग सुनुवार, दीपक घिमिरे र मौसम भट्टराई समेतको संयुक्त लगानी र हाल उद्योगबाट प्लाइउडको कच्चा पदार्थ उत्पादन सुरु भएको सञ्चालक सदस्य श्रेष्ठले बताउनुभयो ।
चार जनाले कुल चार करोड २८ लाख रुपियाँ लगानी गरेर भेनियर उद्योग सुरु गरिएको सञ्चालक सदस्य सुनुवारले जानकारी दिनुभयो । फुङ्लिङ नगरपालिका–७ दोखुको हिटी क्षेत्रमा प्रालिको नाममा ७१ रोपनी जग्गा खरिद गरी उद्योग सञ्चालनमा ल्याएको सुनुवारले बताउनुभयो । कोभिड–१९ को महामारीकाबीच उद्योग सञ्चालनमा ल्याएर अहिले धमाधम प्लाइउडका लागि कच्चा पदार्थ उत्पादन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
दैनिक दुई लाख कोर कच्चा पदार्थ उत्पादन गर्ने क्षमताको मेशीन जडान गरिएको र यसबाट ३५० जनालाई रोजगारी दिने योजना रहेकोमा हाल कोभिड–१९ को महामारीका कारण एकसय जना स्थानीयले मात्र प्रत्यक्ष/अप्रत्यक्ष रुपमा रोजगारी पाउँदै आएका सञ्चालक सदस्य श्रेष्ठले बताउनुभयो । दुई लाखको क्षमता भए पनि हाल करिव ९० हजार कोर मात्र कच्चा पदार्थ उत्पादन हुँदै आएको पनि उहाँले जानकारी दिनुभयो ।

भेनियर उद्योगमा काम गर्दै मजदुहरु । तस्बिर : प्रयास ।

उद्योगमा उत्तिस, मलातो, चिलाउने, मौवा लगायत प्रजातिका काठहरुको प्रयोग गरिँदै आएको प्रालिले जनाएको छ । काठ दैनिक १५ ट्रयाक्टर आवश्यक पर्ने र सो उपलब्ध रहेको सञ्चालक सदस्य सुनुवारले बताउनुभयो । उद्योगबाट उत्पादित कच्चा पदार्थ झापासहित जनकपुर, भैरहवा, बुटवल निर्यात हुँदै आएको छ । उक्त जिल्लाहरु र काठमाडौंबाट समेत माग भइरहेको, तर महामारीले गर्दा मागअनुसार कच्चा पदार्थ निर्यात गर्न नसरहेको सुनुवारले बताउनुभयो ।
यहाँ उत्पादन भएको प्लाइउडको कच्चा पदार्थ प्रतिवर्ग फिट (सीएफटी) चार रुपियाँ र रनिङ फिट (आरएफटी) ४० रुपियाँले बिक्री हुने बताइएको छ । लगानीअनुसार राम्रै फाइदा हुने भए पनि अहिले महामारीको प्रभाव रहेको प्रालिले जनाएको छ । यता उद्योग सञ्चालनमा ल्याउँदा जिल्लाका निजी वन जङ्गलका रुखले राम्रो मूल्य पाउन थालेका छन् । जिल्लाभित्रै भेनियर उद्योग स्थापना भएपछि कतिपय जङ्गलमै खेर जाने गरेको उत्तिस लगायतका रुख बेचेर वन जङ्गलका धनीले पनि राम्रो आम्दानी गर्न थालेको पाइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts