मेरिङदेनले दशैं अवधिको सार्वजनिक बिदाका समयमा पनि आकस्मिक तथा प्रसुति सेवा नरोक्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ११ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले दशैं अवधिको सार्वजनिक बिदाका दिनमा समेत आकस्मिक तथा प्रसुति सेवा भने नरोक्ने भएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयमान लङ्वाका अनुसार पालिकाका ६ वटै वडामा रहेका स्वास्थ्य चौकीहरुमार्फत सार्वजनिक बिदाका दिनमा समेत आकस्मिक तथा प्रसुति सेवा भने सञ्चालनमा रहने छ । असोज १३ देखि १८ गतेसम्म दशैंका लागि सार्वजनिक बिदा रहेको छ । उक्त अवधिमा पनि आकस्मिक तथा प्रसुति सेवा भने साविक झैं सञ्चालनमा रहने पालिकाले जनाएको छ ।

पालिकाले आकस्मिक तथा प्रसुति सेवा निरन्तरताका लागि वडागत रुपमा प्रतिनिधि समेत तोकेको छ । जसअनुसार वडा नं १ स्थित थिङलावु स्वास्थ्य चौकीबाट मदन ओख्राबु,वडा नं २ सान्थाक्रा स्वास्थ्य चौकीबाट उर्मिला लिम्बू र वडा नं ३ खाम्लुङ स्वास्थ्य चौकीबाट चन्द्रजीत लिम्बूले आकस्मिक तथा प्रसुति सेवा प्रदान गर्नहुने छ ।

पालिकाका अनुसार वडा नं ४ स्थित लिङतेप स्वास्थ्य चौकीबाट ज्योति मादेन,वडा नं ५ थुकिमास्थित महाश्रेङ स्वास्थ्य चौकीबाट जेनिसा जोगी र वडा नं ६ नाल्बुस्थित नाल्बु स्वास्थ्य चौकीबाट सेमीहाङ लिम्बूले दशैं अवधिको सार्वजनिक बिदाका दिनमा समेत आकस्मिक तथा प्रसुति सेवा प्रदान गर्नुहुने छ ।

पालिकाले दशैं अवधि सुरु भईसकेकोले असोज महिनाका लागि सञ्चालन हुने नियमित खोप भने असोज महिनाका लागि स्थगित गरेको छ । मेरिङदेन गाउँपालिकामा हरेक महिनाको ११ देखि १४ गतेसम्म नियमित खोप सञ्चालन हुँदै आएको थियो ।

Similar Posts