ताप्लेजुङमा साँझ ५ बजेसम्म निशेधाज्ञा जारी,५ जना भन्दा बढी भेलाजम्मा हुन प्रतिवन्ध

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २६ । पूर्व स्वीकृति नलिई बढीमा ५ जना भन्दा बढी व्यक्ति आवत जावत वा भेलाजम्मा हुन प्रतिवन्ध गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बिहीबार १० बजे देखि साँझ ५ बजेसम्म निशेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँद्धारा केहिबेर अघि जारी निशेधाज्ञा सूचना प्रतिकुल हुने कार्य गरेमा कानुन अनुसार कारवाही हुने चेतावनी दिईएको छ । प्रशासन कार्यालयले गए बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु आदेश अवधि पूरा भएपछि प्रशासन कार्यालयले बिहीबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि निशेधाज्ञा जारी गरेको हो ।
प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३(क)बमोजिम निशेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सेढाईँले जानकारी दिनुभयो । प्रशासन कार्यालयले पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम,पश्चिममा संखुवासभाको सिमानाबाट पूर्व,उत्तरमा मित्रराष्ट्र चीन तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम र पाँचथर जिल्लाको सिमानाबाट उत्तर यति चारकिल्ला भित्र निशेधाज्ञा जारी गरेको छ । उक्त अवधिमा कुनैपनि प्रकारको भेला जुलुस,प्रर्दशन,बैठक,घेराउ गर्न पाइने छैन ।