दौंतरी नेपालको सहयोगमा ताप्लेजुङका ६ बिद्यालयमा २ सय ३ बिद्यार्थीले पाए शैक्षिक सामग्री
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ११ । दौंतरी नेपालले ताप्लेजुङ विकास मञ्चसंगको सहकार्यमा ताप्लेजुङका ६ बिद्यालयका २ सय ३ बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
दौंतरी र ताप्लेजुङ विकास मञ्चले विगत ७ बर्षदेखि बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै आइरहेका छन् । ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाँइका अनुुसार यसबर्ष भगवती आधारभूत बिद्यालय,महेन्द्र आधारभूत बिद्यालय खेवाङ,सूर्यदेवी मावि सान्थाक्रा,भगवती आधारभूत बिद्यालय आम्बेगुदिन,सिद्धेश्वरी मावि डुम्रिसे र तुलसी आधारभूत बिद्यालय खेजेनिमका बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको हो । शैक्षिक सामग्रीमा ट्रयाक सुट,जुत्ता,एक दर्जन कापी,डटपेन,मसी,पेन्सिल,ज्यामितिसहितका सामग्री रहेको ताप्लेजुङ विकास मञ्चका सचिव भोला पौडेलले जानकारी दिनुभयो । दौंतरी नेपालका अध्यक्ष सम्पन्न स्थापितले ताप्लेजुङका बिद्यार्थीले विगत ६ बर्षदेखि यस्तो हुँदै आएको शैक्षिक सहयोग बितरण यसबर्ष समेत निरन्तर रहेको जानकारी दिनुभयो । स्थापितका अनुसार दौंतरी नेपालले फुङलिङस्थित दीपज्योति आधारभूत बिद्यालयलाई एकथान ल्यापटप समेत प्रदान गरिएको जानकारी दिनुभयो ।
स्थापितका अनुसार उक्त बिद्यालयलाई प्रविधि सुहाउँदो पढाईमा केन्द्रित गरी नमूना बिबद्यालयको रुपमा विकास गर्न नयाँ सफ्वेयरको समेत खोजी थालिएको छ । सिकाई सुधारमा सहयोगी र सिकाई अभ्यासका प्रसस्त जानकारी हुने ‘लुमा’नामको अमेरिकी शैक्षिक सफ्टवेयरमार्फत सिकाई सुधारका अभ्यासहरु थालिने उनले जानकारी दिए । सुरुमा नमूनाको रुपमा दीपज्योति आधारभूत बिद्यालयमा सफ्टवेयरको प्रयोग गर्न थालिएको उहाँको भनाई छ । शैक्षिक सामग्री बितरण गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष एवम् जिल्ला शिक्षा समितिका अध्यक्ष छिरिङ लामाले ताप्लेजुङ जस्तो दुर्गम जिल्लाका बिद्यार्थीको शैक्षिक भविष्यप्रति देखाएको चिन्ता र गरेको सहयोगको सम्मान गर्दै दौंतरी नेपाललाई धन्यवाद दिनु भएको छ ।
ताप्लेजुङ विकास मञ्चका अध्यक्ष प्रसाँइले दौंतरी नेपालसंगको सहकार्यमा हुँदै आएको शैक्षिक सामग्री बितरण पछि आफुहरुको ध्यान शैक्षिक गुणस्तर सुधारका लागि नयाँ प्रविधितर्फ केन्द्रित हुने योजना बनाउनुभयो । यहाँका शैक्षिक पूर्वाधारको विकासमा ह्युमन प्राक्टिस फाउण्डेसन,युडब्लुएस र पूर्वाधार र सिकाई सुधारका कार्यमा रिड नेपाल र सार्मथ्य फाउण्डेसन सहितका निकायले गरेको सहयोगको प्रशंसा गर्दै अब प्रविधिमैत्री सिकाईका लागि आफुहरुले सम्वन्धित सबै निकायसंग सहकार्य गर्ने समेत जानकारी दिनुभयो । कार्यक्रममा दौंतरी नेपालका कोषाध्यक्ष उत्तरा मानन्धर सहितको उपस्थिति रहेको थियो ।