बालश्रम तथा लागुऔषध दुर्व्यसन बिरुद्ध अन्तरक्रिया

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १९ । ताप्लेजुङमा बिहीबार बालश्रम तथा लागुऔषध दुर्व्यसन बिरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटीको ६३ औं स्थापना दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालयसंगको साभेदारीमा नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङले अन्तरक्रिया तथा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम तथा प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढईले बालश्रम तथा लागुऔषध दुर्व्यसन,यसबाट पर्ने असर,सावधानीका उपाय र यसको रोकथाम तथा न्यूनीकरणका सवालका बिभिन्न बिषयमा अनुशिक्षण गराउनु भएको थियो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले बालश्रम रोकथाम तथा न्यूनीकरण र लागुऔषधको कुलतमा फस्न नहुने बिषयमा बेलैबाट जागरणको आवश्यकता रहेको बताउनुभयो । प्रजिअ सेढाईँले बालश्रम रोकथाम तथा न्यूनीकरणका लागि कानुनी अग्रसरता भन्दा पहिला जागरण कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

कुलत र कुसंस्कारमा नफस्न र फसेकालाई सामाजिक जीवनमा पुर्नस्थापना गर्न सकेमा लागुऔषध दुर्व्यसनमा कमी आउने भएकोले जागरण अभियानका लागि यस्तो कार्यक्रम आयोजना गरेको नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङले बताउनुभयो । कार्यक्रममा दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय,ताप्लेजुङजिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर प्रनाम जयरु,सदरमुकाम फुङलिङस्थित बिभिन्न बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि,जिल्ला रेडक्रसका पदाधिकारी तथा सदस्य र नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।

Similar Posts