फुङलिङमा जथाभावी फोहोर फाले २ हजार सम्म जरीवाना,जघन्य व्यवसायिक कैफियत भेटिए कारवाही

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १६ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले जथाभावी फोहोर फाले २ हजार रुपैयाँसम्म जरीवाना गर्ने कानुन ल्याएको छ ।
चालु आर्थिक बर्ष २०८२।८३ का लागि बनाईएको नियम अनुसार सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्ने व्यक्तिले पहिलोपटकका लागि ५ सय रुपैयाँ जरीवाना तिर्नुपर्ने छ । हेलचेक्र्याँई गरी दोस्रोपटक समेत सार्वजनिक स्थलमा फोहोर फाले १ हजार रुपैयाँ र तेस्रोपटक २ हजार रुपैयाँ जरीवाना तिनुपर्ने गरी नगरपालिकाले नियम ल्याएको छ । नगरपालिकाले पटक–पटक सार्वजनिक स्थलमा फोहोर फाली अटेर गरेमा कानुन अनुसार गर्न सम्वन्धित निकायमा लेखी पठाउने भएको छ । नगरपालिकाले गुणस्तरहिन मासुजन्य पदार्थ बिक्री बितरण गरेमा जफत तथा नष्ट गरी पहिलोपटकका लागि २ हजार,दोस्रो पटकका लागि ४ हजार तेस्रो पटकका लागि ८ हजार रुपैयाँ जरीवाना तिराउने भएको छ । खुल्ला ठाउँमा बध गर्ने तथा बेचबिखन गर्ने कार्य गरेमा पनि नगरपालिकाको कानुनी फन्दामा परिने भएको छ । यस्तो कार्य गरेको भए पहिलोपटकका लागि ५ सय,दोस्रो पटकका लागि १ हजार र तेस्रो पटकका लागि २ हजार रुपैयाँ जरीवाना तिनुपर्नेगरि नगरपालिकाले नियम बनाएको छ । यि सबै कार्यको सुक्ष्म र नियमित अनुगमनका लागि नगरपालिका नगरप्रहरी समेत परिचालित गर्न सक्ने भएको छ ।
नगरपालिकाको बजार अनुगमन समितिको अनुगमनका क्रममा उपभोक्तालाई हानी नोक्सानी हुने तथा गम्भिर कानुन प्रतिकुलसम्मका कैफियत देखिएमा व्यवसाय बन्दसम्मको सिफारिस लेख्नेगरी नगरपालिकाले अनुगमन कार्यमा कडाईका साथ प्रस्तुत हुन संकेत गरेको छ । नगरपालिकाले बजार अनुगमनका लागि कार्यविधि नै बनाई सोहि अनुसार परिचालन गर्नेगरी व्यावसायिक कैफियत देखिएमा पहिलोपटकका लागि कैफिय देखिएका सामानको बिक्रीमूल्यको दोब्बर तथा दोस्रो पटकका लागि तेब्बर रकम जरीवाना लिने भएको छ । तेस्रो पटकको अनुगमनका क्रममा समेत कैफियत दोरिएको देखिएमा अनुगमन समितिको सिफारिसका आधारमा नगरपालिकाले व्यवसाय बन्दका लागि सम्वन्धित निकायमा लेखी पठाउने भएको छ ।
अनुमति नलिई बिद्यालय सञ्चालन गरेको भए नगरपालिकाले तोकिएको अनुमति शुल्क दरमा प्रतिशत सत प्रतिशत दण्ड जरीवाना गर्ने भएको छ । सडक पेटी अतिक्रमण गरी व्यवसाय सञ्चालन गर्नेलाई पहिलोपटका लागि ५ सय,दोस्रो पटकका लागि १ हजार र तेस्रोपटक समेत यस्तो कार्य गरेमा २ हजार रुपैयाँ जरीवाना तिराईने भएको छ । सडक पेटी अतिक्रमण गरी ठेलागाढा राख्नेलाई पहिलो पटक ३ सय रुपैयाँ,दोस्रो पटक ६ सय,तेस्रो पटक १ हजार रुपैयाँ जरीवाना लिईने भएको छ भने चौथो पटक भेटेमा ठेलागाढा जफत गरी लिलाम ना नष्ट गर्ने नगरपालिकाको नीति रहेको छ । अनुमति प्राप्त बिद्यालयले बुझाउनुपर्ने नियमित विवरणहरु(जस्तै शुल्क विवरण,छात्रबृत्ति विवरण,इमिस तथ्याङ्क अपलोड सहितका विवरण)समयमा नबुझाएमा आधारभूत तहलाई १ हजार र मावि तहलाई २ हजार रुपैयाँ जरीवाना लिने नगरपालिकाले निर्णय लिएको छ । सहकारी संघसंस्थाहरुले नियमानुसार बुझाउनुपर्ने प्रतिबेदनहरु नियमित रुपमा नबुझाएमा उनीहरुले समेत जरीवाना तिनुपर्ने भएको छ ।